१४ चैत बौनिया/ कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ सुगरखालमा अवस्थित मालिका भगवती मन्दिरको पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ।
शुक्रबार गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिम शिखर)ले मन्दिर निर्माण कार्यको औपचारिक शिलान्यास गर्नुभएको हो।
शिलान्यास गर्दै अध्यक्ष उपाध्यायले हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन चतुर्दशीमा लाग्ने मेलाले मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्व बढाउँदै लगेको उल्लेख गर्दै यसको स्तरउन्नति आवश्यक भएको बताउनुभयो।
वि.सं. २०६६ सालमा तत्कालीन संविधानसभा सदस्य भगत बडुवालको पहलमा निर्माण गरिएको मन्दिर जीर्ण बनेपछि पुनःनिर्माणका लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
मन्दिर पुनर्निर्माणमा स्थानीयस्तरबाट समेत उल्लेखनीय सहयोग जुटेको छ। लम्कीचुहा–१० निवासी टेकबहादुर बोहराले ५० कट्टा सिमेन्ट, ५ क्विन्टल सरिया, १० हजार इट्टा तथा ५ लाख रुपैयाँ बराबरको ढुवानी खर्चसहित आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
स्थानीय विश्वासअनुसार मन्दिरसँग सम्बन्धित शिला वि.सं. १६१६ मा फेला परेको मानिन्छ। मन्दिरमा गौतम गोत्रीय सन्ज्याल ब्राह्मण, चन्द्रवंशी तथा अत्री गोत्रीय रास्कोटी ठकुरी संयुक्त रूपमा कर्ता रहँदै आएका छन् भने गर्ग गोत्रीय ब्राह्मण पुजारीबाट नियमित पूजा हुँदै आएको छ।
मूल थलो दैलेखको ठाटीकाँध गाउँपालिका–५ तोलिपाटा र आठबिस नगरपालिका–३ लेखगाउँको सिमानास्थित उच्च भूभागमा रहेको उक्त धार्मिक स्थलबाट बसाइँसराइ भई कैलालीको सुगरखालमा शाखा मन्दिर स्थापना गरिएको हो।
वि.सं. २०३४ सालमा तत्कालीन सुगरखाल गाउँ पञ्चायतका उपप्रधानपञ्च खन्टे खत्रीको नेतृत्वमा स्थानीय समाजसेवीहरूको सक्रियतामा मन्दिर स्थापना गरिएको थियो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खन्टे खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य रतन भाट, भैरवमाला राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशी, शिक्षक दीर्घराज जैशी लगायतको सहभागिता रहेको थियो।