रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन्।
यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६(१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।
नेपालको संविधान २०७२ जारी भएपछि धारा ७६(१) अन्तर्गत प्रधानमन्त्री नियुक्त भएको यो पहिलोपटक भएको जनाइएको छ। साथै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति समेत शाह बनेका छन्।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसद् प्रवेश गरेसँगै प्रधानमन्त्री बन्न सफल भएका हुन्।
झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।