कैलाली — सुदूरपश्चिमको कैलाली जिल्लामा स्वास्थ्य सेवा पहुँचको अभावको दर्दनाक उदाहरण सार्वजनिक भएको छ। सुत्केरी पीडा लागेपछि स्वास्थ्य संस्था पुग्ने क्रममा एक महिलाले बाटोमै नवजात शिशु जन्म दिन बाध्य भएकी छन्।
मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया दुर्गा बिक सोमबार प्रसूति गराउन बुढीआमदेखि फल्लेबिसौँना आधारभूत स्वास्थ्य केन्द्रतर्फ जाँदै थिइन्। तर, गन्तव्यमा पुग्नुअघि नै बाटोमा पर्ने जंगल क्षेत्रमा उनले शिशु जन्म दिएकी हुन्।
स्वास्थ्य केन्द्रकी अनमी रूपा खत्रीका अनुसार, दुर्गम भौगोलिक अवस्था र स्वास्थ्य सेवाको पहुँच नहुँदा समयमै स्वास्थ्य संस्था पुग्न न सक्दा यस्तो जोखिमपूर्ण अवस्था सिर्जना भएको हो।
जानकारी पाएलगत्तै स्वास्थ्यकर्मीहरू एम्बुलेन्ससहित घटनास्थल पुगेर आमा र नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य केन्द्र पुर्याएका थिए। त्यहाँ सामान्य उपचारपछि दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
यस घटनाले दुर्गम क्षेत्रका गर्भवती महिलाले भोग्दै आएको जोखिम र स्वास्थ्य सेवाको कमजोर अवस्थालाई फेरि उजागर गरेको छ। स्थानीयले सुरक्षित मातृत्व सेवा गाउँ–गाउँसम्म पुर्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।