९ चैत, कैलाली — भारतबाट ठूलो मात्रामा सुन, चाँदी तथा नगद चोरी गरी नेपाल भित्रिएको गिरोहको खोजी गर्ने क्रममा कैलाली प्रहरीले ४४९ ग्राम चाँदी बरामद गरेको छ। घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कैलालीको बर्दगोरिया र अछामबाट एक/एक जना पक्राउ परेका हुन्। यद्यपि पक्राउ परेकाहरूको विवरण हालसम्म सार्वजनिक गरिएको छैन। घटनामा संलग्न अन्य तीन जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा कैलालीको बौनियास्थित एक सुन पसलबाट उक्त चाँदी बरामद गरिएको हो। प्रहरीका अनुसार स्थानीय नृप साउँदको अगुवाइमा सो चाँदी पसलमा राखिएको अवस्थामा फेला परेको हो।
एक प्रहरी अधिकारीका अनुसार, “उनी घटनामा संलग्न छन् वा छैनन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ। तर चाँदी उनले नै पसलमा राख्न दिएको देखिन्छ।”
पसल सञ्चालक चित्र सुनारले भने आफू चोरीमा संलग्न नभएको दाबी गरेका छन्। उनले भने, “नृप साउँदको आग्रहमा केही व्यक्तिहरूले चाँदी ल्याएका थिए। चाँदी चोरीको हो वा होइन भन्ने मलाई थाहा छैन, मैले सुरक्षित राखिदिएको मात्र हुँ।”
प्रहरीले नृप साउँदसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि छाडेको खुलेको छ।
प्रहरीका अनुसार तीन दिनभित्र अन्य संलग्न व्यक्तिहरूलाई सम्पर्कमा ल्याउने सर्तमा उनीहरूलाई छाडिएको हो।
बरामद गरिएको ४४९ ग्राम चाँदीसँगै केही सुनका गरगहनासमेत फेला परेको प्रहरीले स्वीकार गरे पनि यसबारे विस्तृत जानकारी दिन भने आनाकानी गरिरहेको छ।
स्रोतका अनुसार अनुसन्धानको केन्द्रमा नृप साउँदलाई राख्नुपर्ने देखिएको छ। स्रोतले दिएको जानकारी अनुसार नृपले भारतबाट चोरी गरी ल्याइएको करिब २ केजी चाँदी यसअघि नै बिक्री गरिसकेका छन् र सो रकम भारतमा रहेका गिरोहका सदस्यहरूलाई पठाइएको छ। हाल बरामद भएको ४४९ ग्राम चाँदी पनि उनले नै स्थानीय पसलमा बिक्री गरेको स्रोतको दाबी छ।
यता नृप साउँदले भने आफू घटनामा संलग्न नरहेको बताएका छन्। उनका अनुसार चोरीमा संलग्न व्यक्तिहरूले फोन सम्पर्क गरेको आधारमा प्रहरीले आफूलाई सामान्य सोधपुछ मात्र गरेको हो।