३ चैत/कैलालीको लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको लम्कीचुहा अस्पतालमा प्रदेश सरकारले छुट्टै विकास समिति गठन गरेपछि विवाद चर्किएको छ।
कानुनी रूपमा अस्पताल सुदूरपश्चिम प्रदेश सरकार मातहत आइसकेको भए पनि व्यावहारिक रूपमा भने अझै नगरपालिकाबाट हस्तान्तरण नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यही अवस्थामै प्रदेशले नयाँ समिति गठन गरेपछि अन्योल र विवाद उत्पन्न भएको हो।
मन्त्रालयले सेती प्रादेशिक अस्पताल, जोगबुढा प्रादेशिक अस्पतालसँगै लम्कीचुहा अस्पतालका लागि पनि पदाधिकारी नियुक्त गरेको हो। तर १५ शैय्याको उक्त अस्पताल अझै नगरपालिकाकै बजेट र व्यवस्थापनमा सञ्चालन भइरहेको देखिएको छ।
हाल नगर प्रमुख सुशीला शाहीको अध्यक्षतामा स्थानीय स्तरमै विकास बोर्ड सक्रिय रहेको छ। बोर्डका सदस्य पहिलबहादुर शाहीका अनुसार हालै मात्रै बोर्डको बैठक बसेको अवस्थामा प्रदेशबाट अर्को समिति गठन हुनु “उचित नभएको” बताएका छन्।
यता, नगरपालिकाको स्वास्थ्य शाखाले भने अस्पताल हस्तान्तरण भएको विषयमा स्पष्ट जानकारी नभएको बताएको छ। शाखा प्रमुख जयन्ती बीसीले अहिलेसम्म नगरकै बजेटबाट अस्पताल सञ्चालन भइरहेको उल्लेख गरेकी छन्।
प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीका अनुसार संघीय सरकारले केही महिनाअघि नै अस्पताललाई प्रदेश मातहत ल्याउने निर्णय गरिसकेको छ। साथै १५ शैय्याको अस्पताललाई ५० शैय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय पनि भइसकेको छ। तर कर्मचारी समायोजन लगायतका प्रक्रिया पूरा नहुँदा व्यवहारिक हस्तान्तरण हुन सकेको छैन।
मन्त्रालयले नगरपालिकासँग सम्झौताको मस्यौदा तयार गरे पनि हस्ताक्षर हुन बाँकी रहेको जनाएको छ।
यसैबीच, सामाजिक विकास मन्त्री मेघराज खड्काले अस्पताल विकास समितिको अध्यक्षमा रामबहादुर बिष्टलाई नियुक्त गरेका छन्। सदस्यमा ससिरा सिंह शाही, धीरेन्द्र थापा, भीम थारु र हिमाल स्वाँर रहेका छन्।