Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मुख्यमन्त्रीमाथि ५ लाख घुसको आरोप,वन अधिकृत भट्टलाई २४ घण्टे स्पष्टीकरण

  • कैलाली दर्पण
  • शुक्रबार, फाल्गुन २९, २०८२
मुख्यमन्त्रीमाथि ५ लाख घुसको आरोप,वन अधिकृत भट्टलाई २४ घण्टे स्पष्टीकरण

२९फागुन/सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वरिष्ठ वन अधिकृत कृष्णदत्त भट्टसँग २४ घण्टेभित्र स्पष्टीकरण मागेको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई ५ लाख रुपैयाँ घुस मागेको आरोप लगाउँदै सार्वजनिक अभिव्यक्ति दिएको विषयलाई लिएर मन्त्रालयले भट्टसँग स्पष्टीकरण सोधेको हो।

मन्त्रालयले जारी गरेको पत्रमा भट्टले मुख्यमन्त्री शाहविरुद्ध निराधार तथा कपोलकल्पित आरोप लगाई चरित्रहत्या गर्ने मनसायले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको उल्लेख गरिएको छ। साथै जिम्मेवार सरकारी कर्मचारी भएर पनि गैरजिम्मेवार ढंगले विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएको र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विषयप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

स्पष्टीकरण पत्रमा यसअघि पनि भट्टले विभिन्न व्यक्तिमाथि आरोप लगाएको तथा उनी स्वयं पनि त्यस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेको अडियो–भिडियो सार्वजनिक भएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
तथ्य र प्रमाणबिना व्यक्तिहरूविरुद्ध आरोप लगाउने र प्रयोग गरिएको भाषा तथा अभिव्यक्ति शैली निजामती कर्मचारीको आचरणभित्र नपर्ने भन्दै मन्त्रालयले यस्तो गम्भीर व्यवहार किन र कसरी भएको हो भन्नेबारे २४ घण्टाभित्र स्पष्ट जवाफ दिन निर्देशन दिएको छ।

मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भट्टलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधिएको जानकारी दिएका छन्।

सम्बन्धित समाचार
ताजा अपडेट