Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

फागुन २१ को निर्वाचनले देश निर्माणको स्पष्ट सन्देश दियो : मुख्यमन्त्री शाह

  • कैलाली दर्पण
  • सोमवार, फाल्गुन २५, २०८२
फागुन २१ को निर्वाचनले देश निर्माणको स्पष्ट सन्देश दियो : मुख्यमन्त्री शाह

फागुन २५,/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ मा सम्पन्न निर्वाचनले मुलुक बनाउने र निर्माण गर्ने स्पष्ट जनादेश दिएको बताउनुभएको छ।

लम्कीचुहा नगरपालिका वडा नम्बर २ स्थित श्री जनसेवा माध्यमिक विद्यालय बघौरा गणेशपुरको ३६औँ जन्मजयन्ती तथा वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले जनताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत दिएको बताउनुभयो।

सोही कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट निर्माण गरिएको दुई कोठे विद्यालय भवनको उद्घाटन समेत उहाँले गर्नुभएको थियो।

मुख्यमन्त्री शाहले जनताले राष्ट्रिय राजनीतिमा प्रकट गरेको अभिमतले मुलुकलाई भ्रष्टाचारमुक्त, पारदर्शी र सुशासनयुक्त बनाउने दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई जनताको भावना र चाहनाअनुसार कार्यान्वयन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो।
निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने राष्ट्रपति, प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख, कर्मचारी तथा प्रत्यक्ष रूपमा खटिएका सम्पूर्ण जनशक्ति र आम जनतालाई धन्यवाद तथा आभार व्यक्त गर्दै मुख्यमन्त्री शाहले अब मुलुकलाई जनताको अपेक्षा र युवाको चाहनाअनुसार अघि बढाउनुपर्ने बताउनुभयो।

उहाँले संरचनागत सुधार नगरेसम्म विकासको गति तीव्र बनाउन नसकिने उल्लेख गर्दै आगामी दिनमा गठन हुने दुई तिहाइको सरकारलाई प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

सम्बन्धित समाचार
ताजा अपडेट