Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दशैं–तिहार लक्षित बौनियामा नागरिक सहायता कक्ष स्थापना

  • कैलाली दर्पण
  • आइतवार, अशोज १८, २०८३
दशैं–तिहार लक्षित बौनियामा नागरिक सहायता कक्ष स्थापना

बौनिया/दशैं तथा तिहारलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय बौनियाले नागरिक सहायता कक्ष स्थापना गरेको छ।

चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगी, दुर्घटना, झैझगडा तथा अन्य आपराधिक गतिविधि न्यूनीकरण गर्नुका साथै यात्रु तथा सर्वसाधारणलाई आवश्यक सहयोग र सुरक्षा प्रदान गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिनुभयो।

सहायता कक्षबाट यात्रु तथा सर्वसाधारणलाई आवश्यक सूचना, सुरक्षा तथा तत्काल सहयोग उपलब्ध गराइनेछ। लामो दूरीका यात्रु, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई आवश्यक सहजीकरण गर्नुका साथै हराएका सामान तथा व्यक्तिको खोजीमा समेत सहयोग गरिने प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक बिष्टले चाडपर्वका बेला सवारी साधनको गति नियन्त्रण गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा अपरिचित व्यक्तिसँगको कारोबारमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।

त्यस्तै, कुनै शंकास्पद गतिविधि वा समस्या देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा सहायता कक्षमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।

दशैं–तिहारका बेला नागरिकको आवतजावतलाई सुरक्षित र सहज बनाउन इलाका प्रहरी कार्यालय बौनियाले सुरक्षा निगरानी तथा प्रहरी परिचालनलाई समेत थप प्रभावकारी बनाएको जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट