नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश कुमार शाहीले खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का शाही नेपाली कांग्रेसको महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत सिफारिस भएका थिए। विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय शाहीले २०५५ सालमा नेपाल विद्यार्थी संघ मावि इकाइ सभापति हुँदै २०५७ सालमा नेविसंघ दैलेख जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारी सम्हालेका थिए।
त्यसपछि २०५९ सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य, २०६७ सालमा ११औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि तथा १३औँ र १४औँ महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारीमा रहेर पार्टी संगठनमा सक्रिय रहेको शाहीले बताएका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा देशभर गठबन्धन भएको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिकाले भने गठबन्धन तोडेर नगर प्रमुख, उपप्रमुखसहित सबै वडामा एक्लै उम्मेदवारी दिएको थियो। नगर प्रमुख, उपप्रमुख तथा वडा नम्बर ४, ५, ६ र ८ का वडा अध्यक्षसहितका उम्मेदवारले सानदार जित निकाल्न सफल भएका थिए।
नेपाली कांग्रेसबाट नगर प्रमुखका लागि एकल उम्मेदवार बनेका शाही निर्वाचित भएका थिए। नगर प्रमुखका रूपमा सडक, शिक्षा, स्वास्थ्य तथा पर्यटनलगायतका क्षेत्रमा विकास निर्माणका काम अघि बढाइएको र विपन्न तथा बेरोजगार वर्गका लागि रोजगारी सिर्जनाका प्रयास गरिएको उनको भनाइ छ।
सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय शाही विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहँदै आएका छन्।
शाही नेपाली कांग्रेसका दैलेखका संस्थापक नेता तथा दैलेख जिल्ला विकास समितिका पूर्वसभापति एवं कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री स्वर्गीय हिमबहादुर शाहीका साइँला छोरा हुन्। उनका बुवाको यही भदौ ३१ गते हृदयघातका कारण निधन भएको थियो। शाही परिवारको राजनीतिक पृष्ठभूमि तीन पुस्तादेखि नेपाली कांग्रेससँग जोडिएको बताउँछन्।
महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्दै शाहीले आफू निरन्तर पार्टी संगठनलाई बलियो र एकताबद्ध बनाउन सक्रिय रहेको बताएका छन्। उनले आफ्नो राजनीतिक सक्रियता र सामाजिक गतिविधिलाई आधार बनाउँदै युवाको सहभागिता र सक्रियताले कांग्रेसलाई थप सशक्त बनाउन सक्ने धारणा व्यक्त गरेका छन्।
उनले समाज परिवर्तन व्यक्ति परिवर्तनबाट सम्भव हुने भन्दै राजनीतिक गतिविधि चेतना र विचारका आधारमा अघि बढाउनुपर्ने बताएका छन्।
शाहीले १५औँ महाधिवेशनबाट निर्वाचित वडा सभापति, वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।
साथै, कांग्रेसका सक्रिय सदस्यको विश्वासलाई आत्मसात् गर्दै आगामी आधा दशकलाई दृष्टिगत गरी स्थानीय तह, प्रदेशसभा, क्षेत्रीय समिति तथा महाधिवेशन प्रतिनिधि चयनमा निर्णय गर्न क्षेत्रीय प्रतिनिधि, पालिका सभापति, वडा सभापति, पार्टीका अग्रज नेता तथा युवाहरूसँग उनले आग्रह गरेका छन्।
शाहीले दैलेख निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय प्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्तासँग आफूलाई अत्यधिक मतसहित विजयी गराउन अपिल गरेका छन्।