लिलाराज शाही बौनिया/ नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत लम्कीचुहा नगरपालिका–१ बाट क्षेत्रीय प्रतिनिधि ( खुल्ला महिला) मा निर्विरोध निर्वाचित नगर प्रमुख सुशीला शाहीले केन्द्रीय महाधिवेशन प्रतिनिधि( खुल्ला महिला) पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
सानै उमेरदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय शाही २०६० सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएकी थिइन्। २०६८ सालमा नेपाल महिला संघमा आबद्ध भएकी उनले २०७० सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेकी हुन्। १४औँ महाधिवेशनमा समेत उनी क्षेत्रीय प्रतिनिधि बनेकी थिइन्।
शाहीले लम्की लेडी जेसीजको संस्थापक अध्यक्ष, सन् २०१६ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष, लम्कीचुहा उद्योग वाणिज्य संघको अध्यक्ष तथा लायन्स क्लब लम्कीको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्। उनी नेपाल रेडक्रस सोसाइटी लम्की शाखाकी वरिष्ठ सदस्यसमेत हुन्।
हाल लम्कीचुहा नगरपालिकाको नगर प्रमुख रहेकी शाही राष्ट्रिय विकास परिषद्को केन्द्रीय सदस्य तथा नेपाल नगरपालिका संघको केन्द्रीय सदस्य र महिला विभाग प्रमुखसमेत रहेको बताइएको छ। २०७४ सालको प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ (क) बाट समानुपातिक उम्मेदवारसमेत बनेकी शाही २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित भएकी हुन्।
२०४३ सालमा जन्मिएकि युवा महिला नेत्री शाहीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
नगर प्रमुखका रूपमा शाहीले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा यातायातलगायतका क्षेत्रमा काम गर्दै आएको बताएकी छन्। विपन्न तथा पछाडि परेका समुदायका लागि रोजगारीका अवसर सिर्जना, ‘आमासँग छोरी’ कार्यक्रम, मृत्यु संस्कारका लागि किरिया खर्च तथा नगरवासीका लागि निःशुल्क शववाहन सेवा सञ्चालनलगायतका कार्यक्रम अघि बढाइएको उनको भनाइ छ।
शाहीले आफ्नो राजनीतिक पृष्ठभूमि पारिवारिक रूपमा पनि नेपाली कांग्रेससँग जोडिएको बताएकी छन्। उनका अनुसार उनको परिवारको कांग्रेससँग तीन पुस्तादेखिको राजनीतिक सम्बन्ध रहेको छ।
विभिन्न अन्तर्राष्ट्रिय भ्रमणका क्रममा जापान, अमेरिका, थाइल्यान्ड, नर्वे, क्यानडालगायत दुई दर्जनभन्दा बढी देश पुगेको र ती भ्रमणबाट विकास निर्माण तथा योजना निर्माणसम्बन्धी अनुभव हासिल गरेको शाहीको भनाइ छ।
कैलाली क्षेत्र नम्बर २ बाट खुला महिला कोटामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्दै शाहीले आफूले सामाजिक तथा राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहेकाले महिला प्रतिनिधित्वलाई प्रभावकारी रूपमा अघि बढाउन सक्ने बताएकी छन्।
समाज परिवर्तन व्यक्तिको परिवर्तनबाट सम्भव हुने धारणा राख्दै उनले राजनीतिक उत्तेजनाभन्दा चेतना र सकारात्मक सोचका माध्यमबाट परिवर्तन आवश्यक रहेको बताइन्।
यसैबीच, शाहीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचित वडा सभापति, वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छन्।
आगामी पालिका तह, प्रदेशसभा, क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि छनोटमा प्रदेश प्रतिनिधि, वडा सभापति र पालिका सभापतिहरूले आगामी पाँच वर्षलाई ध्यानमा राखेर आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा उनले जोड दिएकी छन्।
साथै, सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई स्वविवेक र स्वाभिमानका साथ मतदान गर्न उनले अपिल गरेकी छन्।