कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन भएको छ।
बुधबार बेलुका कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा शाहीको निधन भएको हो। उनलाई हृदयाघात भएको थियो।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–स्थित बुडेली निवासी शाही नेपाली कांग्रेस दैलेखका अग्रणी नेता थिए। उनले २०३६ सालको जनमतसंग्रहमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय प्रजातन्त्रको पक्षमा जनजागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
२००४ सालमा जन्मिएका शाहीले कांग्रेसका संस्थापक नेता बीपी कोइरालासँग भेटपछि कांग्रेसको राजनीति सुरु गरेका थिए। बहुदल प्राप्तिका लागि २०३२ देखि २०४६ सालसम्म भूमिगत रहेका उनी विभिन्न समयमा गरी ९ पटक गिरफ्तार परेका थिए। २०४६ सालको जनआन्दोलनका क्रममा उनले ५१ दिन हिरासतमा बिताएका थिए।
शाही २०४९ सालमा जिल्ला विकास समिति दैलेखका सभापति बनेका थिए। उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समेत उम्मेदवारी दिएका थिए।
२०७४ सालमा समानुपातिकतर्फबाट कर्णाली प्रदेशसभा सदस्य बनेका शाहीले प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत बनेका थिए।
प्रदेशसभाको पाँचवर्षे कार्यकालपछि शाही सक्रिय राजनीतिबाट टाढा रही आफ्नै गाउँमा बस्दै आएका थिए।
