बौनिया,भदौ १०/ कैलालीको मोहन्याल गाउँपालिका–३, सुगरखालमा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मालिका मन्दिरको पुनःनिर्माण सम्पन्न भएसँगै बुधबार औपचारिक उद्घाटन गरिएको छ।
पुनःनिर्मित मन्दिरको पूर्व राष्ट्रिय सभा सदस्य कमला कुमारी ओली र मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। कार्यक्रममा अध्यक्ष उपाध्यायले शिलालेखसमेत अनावरण गरेका थिए।
यसअघि २०६८ सालमा तत्कालीन संविधान सभा सदस्य तथा मालिका देवी धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष भगत बडुवालको कार्यकालमा उहाँको सांसद विकास कोषबाट ५ लाख रुपैयाँ विनियोजन गरी मन्दिर निर्माण गरिएको थियो। तर निर्माण गुणस्तरीय नभएका कारण १४ वर्षमै मन्दिर पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको हो।
मोहन्याल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि मन्दिरको पुनःनिर्माण सम्पन्न गरिएको हो। पुनःनिर्माणका क्रममा लम्कीचुहा–१०, पिपरौवाका टेकबहादुर बोहराले इँटा, सिमेन्ट र सरिया ढुवानीसहित ३ लाख ५० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन्। त्यस्तै, गुलराका गोविन्द ओलीले २ लाख रुपैयाँ नगद सहयोग गरेका छन्।
वि.सं. २०३४ सालमा स्थापना भएको यस मन्दिरमा दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ। प्रत्येक वर्ष श्रावण महिनाको चतुर्दशीमा यहाँ पूजा तथा मेला आयोजना हुँदै आएको छ। मेलामा सुगरखाल, ताम्चा, सोल्टा, सल्लेरी, नारासोती, सेतीखोर, पिउलीखेतलगायत स्थानीय क्षेत्रसँगै लम्कीचुहा, बर्दगोरिया, घोडाघोडी,जानकी र टीकापुरलगायतका स्थानबाट हजारौँ श्रद्धालु भक्तजन सहभागी हुने गरेका छन्।
मन्दिरमा गौतम गोत्रीय सञ्ज्याल ब्राह्मण र अत्री गोत्रीय रास्कोटी ठकुरी कर्ता पुजारी तथा गर्ग गोत्रीय आचार्य ब्राह्मण पुरोहित पण्डितबाट पूजापाठ गरिँदै आएको छ।