Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार वीरेन्द्रबहादुर रावल सम्मानित

  • कैलाली दर्पण
  • सोमवार, असार २२, २०८३
पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार वीरेन्द्रबहादुर रावल सम्मानित

नेपाली प्रवासी सङ्घ पश्चिम मुम्बई नगर समितिको आयोजनामा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं वरिष्ठ पत्रकार वीरेन्द्रबहादुर रावलको सम्मानमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

पश्चिम मुम्बईको बोरिवलीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली सङ्घ महाराष्ट्रका सह–इन्चार्ज तथा केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले रावललाई खादा र फूलमालाले सम्मान गरेका थिए।

कार्यक्रममा प्रवासी नेपाली सङ्घ महाराष्ट्रका अध्यक्ष पदम बम, राज्य समिति सदस्य मनिषकुमार भूमि, राष्ट्रिय युवा सङ्घ नेपाल मोहन्यालका अध्यक्ष दीपेश टमट्टालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा महाराष्ट्र राज्य समिति सदस्य तिलक शाहीसहित विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।

नगर अध्यक्ष प्रेम मयालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर सचिव तिलक साउदले गरेका थिए भने उपाध्यक्ष अरुण बमले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
यस अवसरमा अभिराज विश्वकर्मा, सुरेश मयाल, सरिता सुनार, नरेन्द्रसिंह टमट्टा, पार्वती पछाई, प्रेमसिंह परियार, प्रकाश शर्मा जैसी, गणेशबहादुर खत्री, कमल ओली, बसन्ती खत्री खड्का, पद्मा रावल र महेन्द्रसिंह परियारलगायत विभिन्न दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।

प्रमुख अतिथि महेन्द्रबहादुर शाहीले प्रवासमा रहेका नेपालीहरूलाई पार्टीले समान अवसर प्रदान गर्नुपर्नेमा जोड दिँदै, रेमिट्यान्समार्फत देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने प्रवासी नेपालीहरूमाथि विभेद हुन नहुने बताए।
विशेष वक्ता वरिष्ठ पत्रकार तथा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य वीरेन्द्रबहादुर रावलले प्रवासी नेपालीहरूले पार्टीको नीति, नेतृत्व र संगठनलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। उनले प्रवासी नेपालीहरूले भोगिरहेका समस्या समाधानका लागि नेकपा एमाले र सम्बन्धित निकायले गम्भीर पहल गर्नुपर्ने आवश्यकता औँल्याए।

रावलले भारतमा रहेका नेपालीहरूले भोगिरहेका अन्याय, शोषण र विभेद न्यूनीकरण गर्न प्रवासी संगठनले पार्टी कमिटीसँग समन्वय गरी प्रभावकारी रूपमा आवाज उठाउनुपर्नेमा समेत जोड दिएका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट