कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरमा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी घोडाघोडी नगर कमिटीले भोजन सेवा, आर्थिक सहयोग तथा कल्पवृक्ष (रुद्राक्ष) वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
नेकपा एमाले घोडाघोडी नगर कमिटी अध्यक्ष हेमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर रहनुभएको थियो । यसैगरी कार्यक्रममा नेकपा (एमाले) कैलाली जिल्ला कमिटी सचिव तथा घोडाघोडी नगरपालिकाका संस्थापक नगरप्रमुख ममता चौधरी विशिष्ट अतिथिका रहनुभएको थियो ।
कार्यक्रम अन्तर्गत साहारा घर बौनियालाई रु. १० हजार ५ सय ५५ आर्थिक सहयोग प्रदान गरिएको थियो। साथै जननेता मदन भण्डारीको स्मृतिमा हिन्दू संस्कार तथा वातावरण संरक्षणको दृष्टिले महत्वपूर्ण मानिने कल्पवृक्ष (रुद्राक्ष) रोपण गरिएको आयोजकले जनाएको छ ।
भोजन सेवा कार्यक्रममार्फत साहारा घरमा आश्रित व्यक्तिहरूसँग जन्मजयन्ती मनाउँदै सामाजिक सेवा र मानवीय सहयोगको सन्देश प्रवाह गरिएको थियो । साथै वृक्षरोपणले वातावरण संरक्षणसँगै धार्मिक तथा सांस्कृतिक महत्वका बिरुवाको संरक्षणमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा नेकपा (एमाले)का विभिन्न जनवर्गीय संगठनका वडा, नगर तथा जिल्ला तहका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयको उपस्थिति रहेको थियो।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी घोडाघोडी नगर कमिटीका अध्यक्ष पूरण परिवारले जननेता मदन भण्डारीको जन्मजयन्तीलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै सेवा, सहयोग र वातावरण संरक्षणका कार्यक्रममार्फत मनाइएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि समाजहितका यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।