कैलाली — बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ९ करोड २१ लाख १५ हजार ६ सय ८० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँसभामा प्रस्तुत उक्त बजेटले स्थानीय विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइएको छ।
बजेट प्रस्तुत भइरहँदा गाउँपालिकाका उपाध्यक्ष तथा स्थानीय सरकारको बजेट तर्जुमा समितिका संयोजक गणेशराज गिरी भने पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका छन । तर, गाउँसभा जस्तो महत्वपूर्ण बैठक छोडेर गाउँपालिका उपाध्यक्ष पार्टीको महाधिवेशनमा जानु उचित कि अनुचित भन्ने विषयमा भने स्थानीय स्तरमा बहस सुरु भएको छ। कतिपयले जनप्रतिनिधिको पहिलो दायित्व स्थानीय तहको कामकाज र गाउँसभा भएकोले त्यस्तो अवसरमा उपस्थित हुनु आवश्यक हुने तर्क गरेका छन ।
उपाध्यक्षको अनुपस्थितिमा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष मिथुन गौतमले गाउँसभामा बजेट प्रस्तुत गरेका हुन।
गाउँपालिकाले प्रस्तुत गरेको बजेटमार्फत समग्र विकास, सेवा प्रवाहमा सुधार तथा स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको जनाएको छ। साथै, बजेटले सामाजिक सुरक्षा, महिला तथा बालबालिका सशक्तीकरण, र दिगो विकासका कार्यक्रमहरूलाई समेत समेटेको बताइएको छ।
गाउँसभामा जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थिति रहेको थियो। गाउँ सभामा पत्रकार तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ ।