कैलाली । मोहन्याल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५८ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक कमलबहादुर साउदले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ करोड ५८ लाख ५७ हजार रुपैयाँ, चालूतर्फ ३२ करोड ७५ लाख ६० हजार रुपैयाँ तथा स्थानीय स्रोतबाट २ करोड ७८ लाख ६९ हजार रुपैयाँको बजेट समावेश गारि आगामि आर्थिक वर्षका लागि ५८ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।
गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा पूर्वाधार विकास लाई मुख्य प्राथमिकतामा राखेको छ।
बजेटमा विषयगत शाखाहरूका लागि ६ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै राजकाँडा–बडिखर्क हुँदै कटौजे सडक, तालबन्द–कटौजे सडक तथा सिमली–खिमडी सडक लाई गौरव योजनाका रूपमा अघि बढाउन ७ करोड ७५ लाख ४ सय रुपैयाँ छुट्याइएको छ। गाउँपालिका तथा वडा कार्यालयहरूको प्रशासनिक खर्चका लागि ११ करोड ६० लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै गाउँपालिकाले आन्तरिक आय ८१ लाख ८२ हजार रुपैयाँ रहने अनुमान गरेको छ भने सशर्त अनुदानअन्तर्गतका आयोजनाका लागि २३ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको जनाएको छ।
बजेटमाथिको छलफलमा गाउँसभा सदस्यहरू प्रेमबहादुर बुढा, जयप्रकाश मल्ल, रतन भाट, बमबहादुर बुढा, प्रवीण घर्ती मगर, कृष्णबहादुर शाही, नवराज कठायत, दीपेन्द्र माझी, ईश्वरी बिष्ट, यम गिरी, शुक्रदेवी कसेरा, कोपिला भुल, विष्णादेवी कसेरा, टेकबहादुर घर्ती मगर तथा पवीदेवी सुनारले नीति तथा कार्यक्रमअनुसार सबै क्षेत्रलाई समेट्ने गरी बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका थिए।
गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायको अध्यक्षतामा सम्पन्न गाउँसभाले आर्थिक विधेयक, विनियोजन विधेयक, बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। साथै गाउँ कार्यपालिकाबाट भएका विभिन्न निर्णयहरूलाई समेत अनुमोदन गरिएको छ।
गाउँसभामा जनप्रतिनिधि,कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।