Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्यालको १८ औँ गाउँसभा अधिवेशनमा नीति तथा कार्यक्रम बहुमतले पारित

  • कैलाली दर्पण
  • शनिबार, असार ६, २०८३
मोहन्यालको १८ औँ गाउँसभा अधिवेशनमा नीति तथा कार्यक्रम बहुमतले पारित

कैलालीको मोहन्यल गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ को निति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

शुक्रबार गाउँ सभाको १८ औं अधिबेशनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

“उत्पादन, रोजगारी र पूर्वाधार : मोहन्यालको विकास र समृद्धिको आधार” भन्ने नारासहित  बैठकका सभा अध्यक्ष  देविदत्त उपाध्यायले १८ औँ गाउँसभा अधिवेशनको दोस्रो बैठकमा पेस गर्नु भएको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको घोषणा गर्नुभयो।

प्रस्तुत नीति तथा कार्यक्रममा उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको जनाइएको छ।

नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै “एक वडा एक खेलकुद मैदान” को अवधारणा अघि सारिएको छ। यस अवधारणाले स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ र सक्रिय समाज निर्माणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

त्यसैगरी, किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले फलफूल खेती, गाईभैंसी, बाख्रा तथा स्थानीय जातका कुखुरा पालनलाई व्यवसायिक रूपमा अघि बढाउने कृषकहरूलाई अनुदानको व्यवस्था गरिने नीति ल्याइएको छ। साथै, खेतीयोग्य जमिन बाँझो राख्नेहरूलाई वडाबाट प्रदान गरिने सेवा–सुविधाबाट वञ्चित गरिनुका साथै जरिवाना समेत गरिने प्रावधान नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

उक्त गाउँसभामा आगामी आर्थिक वर्षका लागि शनिबार बजेटसमेत प्रस्तुत गरिने जनाइएको छ। गाउँपालिकाले समृद्धिमुखी योजना कार्यान्वयन गर्दै स्थानीय स्तरमै विकासलाई तीव्रता दिने लक्ष्य लिएको जनाएको छ।

यसैगरी गाउँसभा सदस्यहरू दीपेन्द्र माझी, ईश्वरी बिष्ट, यम गिरी, नानी दमाई, रतन भाट, प्रेम बुढा, नवराज कठायत, जयप्रकाश मल्ल, कृष्णबहादुर शाही, प्रवीण घर्तीमगर, बमबहादुर बुढा मगर, कोपिला भुल, कौशिला बुचा मगरलगायतले नीति तथा कार्यक्रममाथि आ–आफ्ना सुझाव राख्नुभएको थियो। गाउँसभा सदस्यहरूले प्रस्तुत गरेका सुझावहरूलाई प्राथमिकताका साथ समेटिने प्रतिबद्धता उपाध्यक्ष कमल साउदले व्यक्त गर्नुभएको थियो।

गाउँसभामा उपाध्यक्ष कमल साउद, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट