बौनिया/कैलालीको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब १२ करोड २५ लाख ६४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक लालमति देवी कठरियाले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेटमध्ये चालुतर्फ ४६ करोड २४ लाख ४१ हजार रुपैयाँ र पुँजीगततर्फ ६६ करोड १ लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, पूर्वाधार विकास, सामाजिक सुरक्षा, रोजगार प्रवर्द्धन तथा सुशासनलाई प्राथमिकताका क्षेत्रमा राखेको जनाएको छ।
गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा सम्पन्न गाउँसभाले आर्थिक विधेयक, विनियोजन विधेयक, बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। साथै गाउँ कार्यपालिकाबाट भएका विभिन्न निर्णयहरूलाई समेत अनुमोदन गरिएको छ।
अधिवेशनले आर्थिक वर्ष २०८२/०८३ का लागि स्थानीय सेवा पुरस्कार घोषणा गर्ने निर्णय पनि पारित गरेको छ। कर्मचारी तथा सेवाग्राहीमैत्री प्रशासन निर्माणमा योगदान पुर्याउने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार घोषणा गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँसभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले आगामी बजेटले विकास निर्माण, सेवा प्रवाहको प्रभावकारिता तथा नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
गाउँपालिकाले आगामी वर्ष कृषि उत्पादन वृद्धि, युवा तथा महिला सशक्तीकरण, सडक तथा भौतिक पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा तथा दिगो विकासका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने जनाएको छ।