Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बालविवाह न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • आइतवार, जेष्ठ ३१, २०८३
बालविवाह न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

कैलाली — बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले आयोजित सचेतना कार्यक्रम सम्पन्न भएको छ। बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा जुनकीरी नेपालको आयोजनामा उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो।

जुनकीरी नेपालका अध्यक्ष अपेक्षा रोकाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्दै बालविवाह न्यूनीकरणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले बालविवाहले घरपरिवार तथा समाजमा नकारात्मक सन्देश दिने भएकाले यसको अन्त्यका लागि व्यापक सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा कानुन अधिकृत तपेन्द्र न्यौपानेले बालविवाहका कारण उत्पन्न हुने नकारात्मक असर तथा यसले निम्त्याउने सामाजिक, स्वास्थ्य र कानुनी जोखिमबारे सहजीकरण गर्नुभएको थियो। उहाँले बालविवाहले किशोर–किशोरीको भविष्यमा पार्ने असर, शिक्षा अवरुद्ध हुने समस्या तथा मातृ–शिशु स्वास्थ्यमा पर्ने जोखिमबारे विस्तृत जानकारी गराउनुभयो।

कार्यक्रममा सहभागीहरूले बालविवाह अन्त्यका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए। साथै, यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट