कैलाली — लामो समयदेखि अलपत्र रहेको सेती राजमार्गको दक्षिण खण्ड अन्तर्गत सडक निर्माण कार्य सुरु गरिएको छ। बर्दगोरिया गाउँपालिका र स्थानीय नागरिकहरूको चर्को दबाबपछि निर्माण कम्पनीले काम अगाडि बढाएको हो ।
बर्दगोरिया गाउँपालिकाको बौनिया बजारदेखि दक्षिण खण्डसम्म सडक निर्माण कार्य प्रारम्भ गरिएको निर्माण कम्पनीले जनाएको छ। कम्पनीका अनुसार तत्कालका लागि पानी पिच (ग्राभेल तथा अस्थायी व्यवस्थापन) गरिने र वर्षा याम सकिएलगत्तै कालोपत्र गरिनेछ।
ठेक्का सम्झौता पश्चात् श्री पुर बिल्डर्स प्रा.लि. अत्तरियाले उक्त खण्डमा करिब २ हजार २ सय मिटर सडक कालोपत्र गर्ने योजना रहेको जानकारी दिएको छ।
सडक निर्माण सम्पन्न भएपछि स्थानीयले लामो समयदेखि भोग्दै आएको धुलो र हिलोको समस्या समाधान हुने विश्वास गरिएको छ। साथै, यस क्षेत्रका नागरिकहरूको आवतजावतमा सहजता आउने अपेक्षा गरिएको छ।
त्रिदेशीय सडक सञ्जालको रूपमा विस्तार हुन लागेको सेती राजमार्ग अन्तर्गत कैलालीका विभिन्न स्थानमा सडक मर्मत तथा निर्माण कार्यसमेत जारी रहेको छ। यसै क्रममा पहाडी मोहन्याल गाउँपालिकाको खिमडीसम्म ट्र्याक खोल्ने तथा मर्मत कार्य पनि अघि बढाइएको जनाइएको छ।