कैलाली — लम्कीचुहा उद्योग वाणिज्य संघको ८औं वार्षिक साधारण सभा तथा ४औं निर्वाचन लक्षित गर्दै खडानन्द सापकोटा समूहले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको छ।
शुक्रबार लम्कीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार खडानन्द सापकोटाले व्यवसायीका हितमा केन्द्रित प्रमुख एजेन्डा सार्वजनिक गरेका हुन्।
सापकोटाले संघको नयाँ भवन निर्माणलाई प्राथमिकतामा राख्दै व्यवसायीहरूले भोग्दै आएको दोहोरो करको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवसायमैत्री वातावरण निर्माण, स्थानीय उद्यम प्रवर्द्धन र सदस्य व्यवसायीको हकहित संरक्षणमा जोड दिने बताए।
२०५७ सालदेखि उद्योग वाणिज्य संघमा आबद्ध रहँदै आएका सापकोटाले “सबल नेतृत्व, समृद्ध व्यवसाय” भन्ने नारालाई सार्थक तुल्याउन आफूलाई मतदान गर्न सम्पूर्ण व्यवसायीहरूलाई अपिल गरेका छन्।
लम्की क्षेत्रका विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय रहँदै आएका सापकोटा सफल नेतृत्व क्षमता भएका व्यक्तिका रूपमा परिचित छन्।
यसैबीच, संघको निर्वाचनमा अध्यक्ष र कोषाध्यक्ष पदमा सहमति जुट्न नसक्दा चुनावी प्रक्रिया अघि बढेको हो। अध्यक्ष पदमा खडानन्द सापकोटा र दीपक कुमार तिमिल्सेना प्रतिस्पर्धामा छन् भने कोषाध्यक्ष पदमा तप्त बहादुर भण्डारी र अमित भण्डारी चुनावी मैदानमा रहेका छन्।
यसअघि नै संघका केही पदाधिकारीहरू निर्विरोध चयन भइसकेका छन्। उपाध्यक्ष (उद्योग) तर्फ मनिष न्यौपाने, उपाध्यक्ष (वाणिज्य) तर्फ पदमराज जैशी र उपाध्यक्ष (वस्तुगत) तर्फ गणेशराज ओली निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी महासचिवमा पुष्पराज ढकाल र सचिवमा संजय बुढाथोकी निर्वाचित भएका छन्।
संघका सदस्यहरूमा रमेश कुमार रावल, गोविन्द बहादुर शाही, लोक बहादुर देउवा र टिकाराम तिमिल्सेना निर्वाचित भएका छन्।