Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बाैनियाँ बजारमा अपाङ्गमैत्री स्मार्ट सार्वजनिक शौचालय उद्घाटन

  • कैलाली दर्पण
  • सोमवार, जेष्ठ ११, २०८३
बाैनियाँ बजारमा अपाङ्गमैत्री स्मार्ट सार्वजनिक शौचालय उद्घाटन

कैलाली — बर्दगोरिया गाउँपालिकाको बौनिया बजारमा निर्माण गरिएको स्मार्ट सार्वजनिक शौचालयको उद्घाटन गरिएको छ।

गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले एक कार्यक्रमका बीच उक्त शौचालय उद्घाटन गर्नुभएको हो।
करिब ७२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त शौचालय अपाङ्गमैत्री हुनुका साथै महिलाहरूका लागि आवश्यक सेनेटरी प्याडको व्यवस्था समेत गरिएको छ। आधुनिक प्रविधियुक्त यस शौचालयमा विभिन्न सेन्सरहरू जडान गरिएका छन्।

बजारवासी तथा सार्वजनिक यातायातमा ओहोर–दोहोर गर्ने नागरिकहरूलाई यस शौचालयबाट प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष कुँवरले नागरिकको सेवा र सुविधाका लागि आफू सदैव प्रतिबद्ध रहने बताउनुभयो।

उक्त शौचालय विश्व बैंकको लगानीमा खानेपानी समन्वय इकाई कार्यालय बर्दगोरियाद्वारा निर्माण गरिएको हो। इकाई कार्यालयले बर्दगोरिया क्षेत्रमा खानेपानी तथा सरसफाइ सुधारका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ।
स्थानीयहरूले सार्वजनिक स्थानमा आधुनिक र व्यवस्थित शौचालय निर्माण भएपछि सरसफाइ तथा सुविधा दुवैमा सुधार आउने अपेक्षा गरेका छन्।

उद्घाटन कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम,२ का अध्यक्ष गोबिन्द बिक, खानेपानी सुशासन तथा समन्वय इकाई प्रमुख लक्ष्मिराज जोशी, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज स्वार, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुदेवी कडेल लगायत स्थानीयवासीको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट