बर्दगोरिया/कैलालीको बर्दगोरिया गाउँपालिकामा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ शुक्रबारदेखि सुरु भएको छ।
कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा बर्दगोरिया गाउँपालिकाको सह-आयोजनामा बर्दगोरिया गाउँपालिको वसन्त मुरारी नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश भण्डारीको सभापतित्वमा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए।
प्रतियोगितामा कैलाली जिल्लाका १३ वटै स्थानीय तहबाट आएका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। विभिन्न खेल विधामार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्।
प्रतियोगिता जेठ ४ गतेसम्म सञ्चालन हुने जनाइएको छ। प्रतियोगिताले जिल्लास्तरमा खेलकुद विकास, प्रतिभा पहिचान तथा नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष मिथुन गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
उद्घाटन समारोहमा घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावत, बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर, मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्का, गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी, वडा नं. २ का अध्यक्ष गोविन्द विक, वडा नं. ३ का अध्यक्ष मन्ऋषि आचार्य, निर्णायक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन केशव बडुवालले गरेका थिए।



