लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया कार्यान्वयनमा देखिएका अवरोध हटाउन कानुनी बाटो अविलम्ब अघि बढाइने लम्कीचुहा प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष रामबहादुर विष्टले बताएका छन्।
मंगलबार लम्कीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विष्टले अस्पताललाई प्रादेशिक संरचनामा रूपान्तरण गर्ने निर्णय नगरपालिकाको सिफारिस र संघीय सरकारको निर्णयअनुसार प्रदेश सरकार मातहत आएको स्पष्ट पारे।
उनका अनुसार विकास समिति मौजुदा कानुनअनुसार गठन गरिएको भए पनि विषय सर्वोच्च अदालतसम्म पुगेको थियो। “अदालतले अन्तरिम आदेश नदिई मार्ग प्रशस्त गरिसकेको अवस्थामा पनि कार्यान्वयनमा बाधा अड्काउ भइरहेको छ। अब कानुनी प्रक्रिया अविलम्ब अघि बढाइनेछ,” उनले भने।
अध्यक्ष विष्टले प्रदेश सरकारले नगरपालिकासँग छलफल नगरेको नगर प्रमुख सुशिला शाहीको भनाइलाई अस्वीकार गर्दै सम्बन्धित मन्त्रालयले विभिन्न मितिमा निरन्तर पत्राचार गरेको दाबी गरे।
उनले वर्तमान अस्पताल विकास समिति र सरोकारवाला पक्षसँग छलफलका लागि प्रदेश सरकार तयार रहेको पनि जानकारी दिए।