कैलाली — कैलालीको खक्रौला नाका हुँदै चिनको ताक्लाकोट सम्म जोड्ने सेती राजमार्ग अन्तर्गतको सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयवासीले तीव्र असन्तुष्टि जनाएका छन् ।
वर्षदिन अघि पक्की सडक भत्काएर पुनःनिर्माणको काम अघि नबढ्दा सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको उनीहरूको गुनासो छ ।
बौनिया बजार देखि दक्षिण खण्ड सडकमा गर्मी मौसममा अत्यधिक धुलो र सामान्य पानी पर्दा हिलोका कारण आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् ।

स्थानीयवासीले सेती राजमार्ग कार्यालयप्रति प्रश्न उठाउँदै सडक भत्काएर लामो समयसम्म अलपत्र पार्ने अधिकार कसले दिएको हो भन्दै छानबिन गरी जिम्मेवार अधिकारीलाई कारबाही गर्न माग गरेका छन् । उनीहरूले तत्काल सडक निर्माण कार्य अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
यस्तै सेती राजमार्ग कार्यालयले काम गर्न नसक्ने हो भने स्पष्ट जानकारी दिनुपर्ने स्थानीय पालिकाको भनाइ छ। बौनिया, रामपुर र बेलुवा क्षेत्रमा गाउँपालिकाले आवश्यक परे ग्राभेल हालेर जनजिबन सामान्य बनाउने तयारी गरेको बताइएको छ।
सडकको अधिकार र बजेट केन्द्रिय निकायले नियन्त्रणमा राख्दा काममा ढिलाइ भएको र यसको दोष प्रदेश र स्थानीय सरकारले खेप्नुपरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । समयमै समस्या समाधान गर्न सरकारसँग उनीहरूले माग गरेका छन ।