Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया कलेजको १० करोडको भवन शिलान्यास

  • कैलाली दर्पण
  • सोमवार, बैशाख २१, २०८३
बर्दगोरिया कलेजको १० करोडको भवन शिलान्यास
Oplus_16908288

बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बर्दगोरिया कलेजको शैक्षिक तथा प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ।

आइतबार आयोजित एक औपचारिक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भवनको शिलान्यास गर्नुभएको हो।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको उक्त भवनको लागत करिब १० करोड रुपैयाँ रहने जनाइएको छ। भवन निर्माण सम्पन्न भएपछि कलेजको शैक्षिक तथा प्रशासनिक कार्य थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले आफूले पाएको जिम्मेवारीलाई इमानदारी र निष्ठापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सुदूरपश्चिम प्रदेशमा शिक्षाको विकास, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा सक्षम जनशक्ति उत्पादनमा प्रदेश सरकार निरन्तर सक्रिय रहेको बताउनुभयो।

सामाजिक विकास मन्त्री मेघराज खड्काले गुणस्तरीय शिक्षा र सक्षम जनशक्ति उत्पादनका लागि भौतिक पूर्वाधार, विशेषगरी शैक्षिक भवनको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। भवन निर्माण सम्पन्न भएपछि कलेजलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्न सकिने उहाँको विश्वास छ।
त्यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले प्रदेशको समृद्धिका लागि स्वस्थ र सक्षम नागरिक आवश्यक पर्ने बताउँदै “प्रदेशको समृद्धिका लागि स्वस्थ र सक्षम नागरिक” भन्ने नारालाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले स्थानीय विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै क्याम्पस स्थापना गर्ने लक्ष्यसहित अघि बढेर सफल भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने, गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी, वडा नं. १ का अध्यक्ष मिथुन गौतम, वडा नं. २ का अध्यक्ष गोविन्द विक, कार्यपालिका सदस्यहरू सरस्वती विक र मीरा देवी आलेलगायत स्थानीय तथा शिक्षासेवीहरूको उपस्थिति रहेको थियो।
कलेज सञ्चालक समिति अध्यक्ष भीमबहादुर कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कलेज प्रमुख चन्द्रा खरेलले व्यक्त गर्नुभएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट