Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा प्रमुख प्रशासकीय अधिकृत धर्म बहादुर थारुको स्वागत

  • कैलाली दर्पण
  • सोमवार, बैशाख १४, २०८३
बर्दगोरियामा प्रमुख प्रशासकीय अधिकृत धर्म बहादुर थारुको स्वागत

कैलालीको बर्दगोरिया गाउँपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत धर्म बहादुर थारुको औपचारिक स्वागत गरिएको छ। गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले खादा लगाएर उहाँलाई स्वागत गर्नुका साथै पदभार ग्रहण गराउनुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत थारुको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले गाउँपालिकाको विकास र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। “हामी जनताको सेवक हौँ, त्यसैले सबैले हातेमालो गरेर बर्दगोरियाको विकासमा अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।

अध्यक्ष कुँवरले पालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक पूर्वाधार क्षेत्रमा उल्लेखनीय काम गरेको उल्लेख गर्दै आगामी दिनमा गाउँपालिकालाई नमुना बनाउन थप प्रयास गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत थारुले आफूले हासिल गरेका सीप र अनुभवलाई उपयोग गर्दै जनप्रतिनिधिहरूद्वारा बनाइएका नीति तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सेवाप्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउने लक्ष्य राखेको बताउँदै सबै कर्मचारीको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का अध्यक्ष गोबिन्द बिक, वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी, कृषि शाखा प्रमुख झन्कर रावत, अधिकृत गोबिन्द राज रेग्मी लगायत शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट