बौनिया/लम्कीचुहा नगरपालिका क्षेत्रलाई सुन्दर र हराभरा बनाउने अभियान अन्तर्गत लम्की–टिकापुर सडक खण्डमा रोपिएका बिरुवाहरूको संरक्षणमा नगर प्रहरी सक्रिय रूपमा खटिएको छ।
बिरुवाहरूलाई गाईवस्तुबाट जोगाउँदै सुरक्षित रूपमा हुर्काउन नगर प्रहरी टोली फिल्डमै परिचालित भएको हो।
आज गरिएको संरक्षण कार्य अन्तर्गत नगर प्रहरीले बिरुवामा लगाइएका ‘ट्रि–गार्ड’ (फलामे जाली) मर्मत गर्ने, नयाँ जाली जडान गर्ने तथा बिरुवाको फेदमा गोडमेल गरी माटो चढाउने काम गरेको छ। सडकको सौन्दर्य कायम राख्दै वातावरणीय सन्तुलन जोगाउने उद्देश्यले रोपिएका बिरुवाहरू संरक्षण अभावमा नष्ट नहुन् भन्ने लक्ष्यका साथ यो अभियान सञ्चालन गरिएको हो।
नगर प्रहरीका अनुसार, “नगरपालिकाको सम्पत्ति र प्रकृतिको संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो। बिरुवा रोप्नु मात्र होइन, त्यसलाई हुर्काएर रुख बनाउनु मुख्य चुनौती हो, जसमा हामी निरन्तर लागिरहेका छौँ।”
नगरपालिकाले नगरवासीहरूलाई पनि आफ्नो घरआँगन तथा सडक किनारमा रहेका बिरुवाहरूको संरक्षणमा सहयोग गर्न अनुरोध गरेको छ।