Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नवबर्षमै जाल्पादेवी केबलकार निर्माण तीव्र, टावर नं.१३ को शिलान्यास

  • कैलाली दर्पण
  • बुधबार, बैशाख २, २०८३
नवबर्षमै जाल्पादेवी केबलकार निर्माण तीव्र, टावर नं.१३ को शिलान्यास

कैलाली/ नववर्ष २०८३ को पहिलो दिनदेखि सुदूरपश्चिमको कैलालीस्थित चिसापानीमा निर्माणाधीन जाल्पादेवी केबलकार आयोजनाको काम औपचारिक रूपमा सुरु गरिएको छ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रकाश ढकालले केबलकारको टावर नम्बर १३ को शिलान्यास गर्दै पोल ठड्याउने कार्यको सुरुवात गरेका हुन्। यो केबलकार चिसापानीदेखि पर्यटकीय क्षेत्र राजकाँडासम्म सञ्चालन हुने योजना रहेको छ।

आयोजनाका स्टेशन म्यानेजर हरिओम खड्काका अनुसार सिभिल इन्जिनियरिङतर्फको काम अन्तिम चरणमा पुगेको छ भने अब वैशाख १ गतेदेखि इलेक्ट्रो–मेकानिकल कार्य सुरु गरिएको छ। केबलकारमा कुल १४ वटा टावर रहने बताइएको छ। नयाँ वर्षको शुभसाइत पारेर १३ नम्बर टावरबाट कामको औपचारिक सुरुवात गरिएको उनले जानकारी दिए।

स्थानीय जनप्रतिनिधिका अनुसार यो आयोजना केवल पूर्वाधार विकासमा मात्र सीमित नरही क्षेत्रीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ। लम्कीचुहा नगरपालिका–१० का वडा अध्यक्ष लवबहादुर शाहले आयोजनाले समग्र क्षेत्रको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

उक्त केबलकार आयोजना कैलालीको लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकामा फैलिएको छ। जाल्पादेवी केबलकारका संचालक सुर्यबहादुर थापाका अनुसार आयोजनालाई आगामी दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट