बर्दगोरिया/कैलालीको बर्दगोरिया कलेजको सञ्चालन समितिको अध्यक्षमा भिम बहादुर कुँवर निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न कलेजको प्रथम साधारण सभाबाट कुँवर सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् ।
यसै गरि कलेजको सदस्यहरुमा सरस्वती कामी,मिरा देवि आले र जितेन्द्र राज न्यौपाने सर्वसहमतिका आधारमा निर्वाचित भएका छन ।
नवनिर्वाचित अध्यक्ष कुँवरले कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास तथा प्रभावकारी व्यवस्थापनमार्फत संस्थालाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विद्यार्थीमैत्री वातावरण निर्माण गर्दै समग्र शैक्षिक सुधारमा जोड दिने बताए।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले नयाँ नेतृत्वबाट कलेजको समग्र विकासमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् । साथै, कलेजलाई क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
बर्दगोरिया कलेजले विगतदेखि नै स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ र नयाँ नेतृत्वसँगै यसको विकास यात्राले थप गति लिने अपेक्षा गरिएको छ।
कलेज संचालक समितिका अध्यक्ष भिम बहादुर कुँवरको अध्यक्षतामा भएको साधारण सभामा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियो । यसै गरि साधारण सभामा पालिका उपाध्यक्ष गणेश राज गिरि बिशिस्ट अतिथि रहनु भएको थियो ।
कलेज संचालन समितिका उपाध्यक्ष डा. राम बहादुर चौधरिले स्वागत गरेको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, २ का अध्यक्ष गोबिन्द बिक, ३ का अध्यक्ष मनऋषी आचार्य , कार्यपालिका सदस्य मिरा आले, सरस्वती कामी, रास्वपाका बर्दगोरिया सभापती केशव भण्डारी , बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देव राज सिंह स्वार लगाएत कलेजका बिशिस्ट ,आजिबन र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
