२१ चैत/ ।कैलालीको लम्कीचुहा नगरपालिकास्थित अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गर्ने विषयमा प्रदेश सरकार र स्थानीय तहबीच पछिल्लो समय असमझदारी देखिएको छ।
अस्पताल विकास समिति अध्यक्ष तथा नगर प्रमुख सुशिला शाहीद्वारा जारी प्रेस विज्ञप्तिमा नगर कार्यपालिकाको निर्णयअनुसार दुवै पक्षबीच आवश्यक कानुनी प्रक्रिया पूरा गरी समझदारी पत्र (MOU) मा हस्ताक्षर भइसकेको उल्लेख गरिएको छ। अब बाँकी प्रक्रिया सोही सहमतिअनुसार अघि बढ्ने जनाइएको छ।
विज्ञप्तिमा सर्वसाधारणलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पताल स्तरोन्नतिको काम अघि बढाइएको पनि स्पष्ट गरिएको छ।
तर, पछिल्लो समय आवश्यक समन्वय नगरी केही व्यक्तिहरूले एकपक्षीय रूपमा अस्पताल व्यवस्थापन समिति गठन गरेकोप्रति विकास समितिले गम्भीर असन्तुष्टि जनाएको छ। साथै, त्यस्ता समूहले अस्पताल परिसरमा जबर्जस्ती प्रवेश गर्ने, कर्मचारीमाथि दबाब सिर्जना गर्ने तथा आफूलाई आधिकारिक समिति घोषणा गर्ने प्रयास गरेको आरोप पनि लगाइएको छ।
समितिका अनुसार यस्ता गतिविधिले स्वास्थ्य सेवामा प्रत्यक्ष असर पार्नुका साथै न्यूनतम नैतिक मापदण्डको समेत उल्लंघन हुने जोखिम रहेको छ।
विकास समितिले प्रदेश सरकारको स्पष्ट निर्देशन वा सहमतिबिना गरिने कुनै पनि अव्यवस्थित तथा गैरकानुनी क्रियाकलाप स्वीकार्य नहुने जनाएको छ। साथै यस्ता कार्य तुरुन्त बन्द गर्न सम्बन्धित पक्षलाई सचेत गराउँदै पुनः दोहोरिए कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ।
अन्त्यमा, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सबै पक्षले संयमता, जिम्मेवारी र सहकार्यका आधारमा अघि बढ्नुपर्नेमा जोड दिइएको छ।