८चैत/कैलालीको बर्दगोरिया गाउँपालिकामा विभिन्न कार्यक्रमका साथ ३४औँ विश्व पानी दिवस मनाइएको छ।
गाउँपालिका तथा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार आयोजना इकाईको समन्वयमा “जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ” भन्ने नारासहित दिवस सम्पन्न गरिएको हो।
दिवसको अवसरमा सरसफाइ अभियान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै वडा नं. १ का अध्यक्ष मिथुन गौतमले स्वच्छ खानेपानीको संरक्षण, दिगो उपयोग र सबैमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै वडा नं. २ का अध्यक्ष गोविन्द बिकले वातावरणीय असन्तुलनका कारण स्वच्छ पानीको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै गाउँपालिकाले ६ वटै वडामा खानेपानी योजना अघि बढाएको जानकारी दिनुभयो।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार आयोजना इकाईका प्रमुख लक्ष्मी राज जोशीले विश्वभर अझै धेरै मानिस सुरक्षित खानेपानीबाट वञ्चित रहेको उल्लेख गर्दै जलवायु परिवर्तन, प्रदूषण र अव्यवस्थित विकासका कारण पानी संकट गहिरिँदै गएको बताउनुभयो।
उहाँले भविष्यमा पानी अभाव गम्भीर समस्या बन्न सक्ने भएकाले पानी संरक्षण र प्रभावकारी व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो।
हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवसको उद्देश्य पानीको महत्वबारे जनचेतना फैलाउनु हो।

