बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको त्र्यम्बकेश्वर क्षेत्र विकास तथा संरक्षण मञ्चको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको
मञ्चका अध्यक्ष चेतराज भट्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नं. १ का अध्यक्ष मिथुन गौतम रहेका थिए। त्यसैगरी, विशिष्ट अतिथिमा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देव राज सिंह स्वार तथा इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश ढकालको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष गौतमले मञ्चले मन्दिर व्यवस्थापनमा प्रशंसनीय काम गरेको उल्लेख गर्दै आगामी दिनमा मन्दिर परिसरमा ठूलो हल र आवाससहितको भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, खानेपानी आयोजनाबाट निर्माण गरिएको स्मार्ट शौचालयको माथिल्लो तलामा बाँकी काम छिट्टै सम्पन्न गरिने जानकारी पनि दिए।
कार्यक्रममा उमादेवी रिजालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने उपाध्यक्ष सावित्री सापकोटाले धन्यवाद ज्ञापन गरेकी थिइन्। मञ्चका अध्यक्ष भट्टले विगत वर्षमा सम्पन्न भएका गतिविधिहरूको विवरण प्रस्तुत गरेका थिए।
साधारण सभामा अध्यक्ष भट्टले आर्थिक वर्ष २०८१/०८२ को २ लाख १८ हजार ८६९ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरे। साथै, नव–निर्मित घेरापर्खालसम्बन्धी आय–व्यय विवरण पनि सार्वजनिक गरिएको थियो। पर्खाल निर्माणका लागि बौनियाका व्यापारीहरूबाट १ लाख ५ हजार ३५ रुपैयाँ संकलन गरिएको र कुल १ लाख ५२ हजार ७९७ रुपैयाँ खर्च भएको जनाइएको छ।
कार्यक्रमको सञ्चालन कृष्ण भण्डारीले गरेका थिए।साधारण सभामा मञ्चका पदाधिकारी, सदस्य तथा स्थानीय सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
