Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

चुनावी हारपछि गगन थापाले सभापति पदबाट दिए राजीनामा

  • कैलाली दर्पण
  • बिहिबार, चैत्र ५, २०८२
चुनावी हारपछि गगन थापाले सभापति पदबाट दिए राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापा ले पदबाट राजीनामा दिएका छन्।

उनले बुधबार आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा समक्ष बुझाएका हुन्।

पार्टीका एक पदाधिकारीका अनुसार सभापतिले बुझाएको राजीनामाबारे छलफल गर्न केन्द्रीय समिति बैठक भोलिका लागि बोलाइएको छ। उक्त बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ। यद्यपि, थापाले दिएको राजीनामा पत्र भने हालसम्म सार्वजनिक गरिएको छैन।

नेपाली कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे चुनावी समीक्षा गर्न केन्द्रीय समिति बैठक आह्वान गरेको छ। यही बैठकमा राजीनामासम्बन्धी विषयले पनि प्राथमिकता पाउने जनाइएको छ।
प्रतिनिधिसभा चुनावमा भोगेको पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले पद त्याग गर्ने निर्णय गरेका हुन्। फागुन २१ गते सम्पन्न निर्वाचनमा उनी सर्लाही–४ बाट पराजित भएका थिए। उक्त चुनावमा थापासहित पार्टीका अधिकांश शीर्ष पदाधिकारीले हार बेहोर्नुपरेको थियो।

यसैबीच, विशेष महाधिवेशनपछि छोटो अवधिमै चुनावमा होमिएको कांग्रेसभित्र आन्तरिक असन्तुष्टि पनि बढेको देखिएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष उक्त महाधिवेशनमा सहभागी नभएको र त्यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।

चुनावी पराजयपछि पार्टीभित्र थापामाथि आलोचना चर्किँदै आएको थियो। सोही दबाबबीच उनले उपसभापति शर्मासँगको भेटमा राजीनामा दिने संकेत गरेका थिए, जसलाई उनले अन्ततः औपचारिकता दिएका हुन्।

सम्बन्धित समाचार
ताजा अपडेट