Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

‘विरासतदेखि भविष्यसम्म’: कैलाली–२ मा एमालेको जित दोहोर्याउने थापाको दाउ

  • कैलाली दर्पण
  • शुक्रबार, फाल्गुन १५, २०८२
‘विरासतदेखि भविष्यसम्म’: कैलाली–२ मा एमालेको जित दोहोर्याउने थापाको दाउ

लिलाराज शाही/कैलाली क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) ले चुनावी अभियानलाई तीव्रता दिएको छ। विगतका उपलब्धि जोगाउने र पुनः जित हासिल गर्ने लक्ष्यसहित एमालेले यसपटक अनुभवी नेतृत्व र युवा उद्यमशीलताको संयोजनलाई अघि सारेको छ। अन्य दलहरू पनि सक्रिय रूपमा मैदानमा उत्रिएका कारण कैलाली–२ को चुनावी माहोल निकै रोचक बन्दै गएको छ।

विगतको विरासत फर्काउने तयारी

एमालेले अघिल्ला निर्वाचनका सफलताहरू स्मरण गर्दै रणनीति अघि बढाएको छ। २०५१ सालमा यस क्षेत्रबाट हिमालन्चल राज भट्टराई, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मोहन सिंह राठौर र २०७४ सालमा झपट बहादुर रावल विजयी भएका थिए।

तर २०६४ सालको पहिलो संविधानसभा निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको थियो। २०६४ मा नेकपा माओवादीका भगत बडुवालसँग र २०७९ मा नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरीसँग एमाले उम्मेदवार पराजित भएका थिए। अब २०८२ सालमा पुनः जित निकाल्ने लक्ष्यसहित पार्टी अघि बढेको छ।

यसपटक एमालेले युवा उद्योगपति तथा पूर्व कैलाली जिल्ला समन्वय समिति प्रमुख सूर्य बहादुर थापालाई उम्मेदवार बनाएको छ भने केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रियसभा सदस्य कमला कुमारी ओलीलाई चुनावी कमाण्डरको जिम्मेवारी दिएको छ।

अनुभवी कमाण्डरको भूमिका

कमला कुमारी ओली २०४८ सालदेखि पार्टीमा आबद्ध रहँदै आएकी अनुभवी महिला नेत्री हुन्। २०५४ सालमा साविक बलिया गाविसबाट निर्वाचित जनप्रतिनिधि बनेकी ओली सामाजिक कार्य र पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएकी छन्। समर्थकहरूका अनुसार उनको संगठनात्मक अनुभव, स्थानीय तहसम्मको पहुँच र समुदायमा स्थापित छविले एमालेको चुनावी अभियानलाई मजबुत बनाएको छ।

उद्यमी युवा उम्मेदवारको उदय

उम्मेदवार सूर्य बहादुर थापा सानै उमेरदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका युवा नेता हुन्। उनी  सुदूरपश्चिमकै प्रतिष्ठित संस्था कैलाली उद्योग वाणिज्य संघका सदस्य, उद्योग वाणिज्य संघ लम्की उपसमितिका संस्थापक अध्यक्ष, लम्की जेसीज वर्ष २००६ का अध्यक्ष तथा लम्की बृहत् विकास मञ्चका अध्यक्ष भइसकेका छन्। हाल उनी डल्फिन ग्रुपका सञ्चालक तथा जालपा देवी केबुलकारका सञ्चालक हुन्।

उनले आफ्ना उद्योगमार्फत करिब ५०० जनालाई रोजगारी प्रदान गरेको र आगामी दिनमा केबुलकारसहितका परियोजनाबाट ५ हजार जनालाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्।

कृषि उत्पादन, पर्यटन, विकास र सुशासन, आर्थिक समृद्धि, र युवाहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने उनका मुख्य एजेन्डा हुन्।

थापाले २०७४ सालमा जिल्ला समन्वय समितिबाट पाउने सेवा–सुविधा नलिई उनले ती सुविधा विपन्न, गरिब, टुहुरा बालबालिका तथा कोरोना प्रभावित क्षेत्रमा वितरण गरेका थिए। यस पटक उनले आफ्नो घोषणा पत्रमा सांसदको प्राप्त हुने सबै सेवा सुविधा गरिब र बिपन्न वर्गको हितमा खर्च गर्ने घोषणा  गरेका छन्।

उनी पार्टीको साविक बलिया कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य हुँदै हाल पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य समेत हुन्।

२०४३ सालमा १९ वर्षको उमेरमा उनका बुवाको निधन भएपछि, २०४४ सालमा २० वर्षको उमेरमै चिसापानी–कुइने अछाम सडक खण्ड मोहन्याल-७ बाका क्षेत्रमा करिब ४० हजारको लागतमा काठको पुल निर्माण गरेर सामाजिक सेवा सुरु गरेका थिए। यो पुल २०४४ देखि २०७८ सालसम्म सञ्चालनमा रह्यो र चिसापानी, बाबियाचौर, बड्डिचौर, जंगलघाट, मंगलसेन हुँदै कैलाली, सुर्खेत, अछाम, दैलेख, जुम्ला, कालिकोटसम्म ओहोरदोहोर गर्ने मुख्य मार्गको रूपमा प्रयोग भएको थियो।

यसैगरी लम्की बृहत विकास मञ्चको अध्यक्ष हुँदा उनले लम्की–खक्रौला सडक र भन्सारको स्तरउन्नति, लम्की राजमार्ग, चिसापानी–बाबियाचौर–बड्डिचौर सडक, कर्णाली राजमार्ग, चिसापानी–जंगलघाट–मंगलसेन सडक निर्माणको दवाब र जागरण अभियान, कुइने–चिफ्ले कर्णाली नदीमा पक्की पुलको सर्वेक्षण र चिफ्लेमा फ्री संचालन गर्न मुख्य भूमिका निर्वाह गरेका थिए। साथै, डुढेझारीमा औद्योगिक क्षेत्र निर्माणमा पनि पहल गरेका छन्।

विभिन्न सामाजिक संघ–संस्थामार्फत सक्रिय रहँदै आएका थापा जिल्लामा परिचित व्यक्तित्वका रूपमा स्थापित छन्।

संगठित टिमको बलियो उपस्थिति

एमालेले यस क्षेत्रमा पूर्व सांसद तथा केन्द्रीय सदस्य झपट बहादुर रावल, केन्द्रीय अनुशासन आयोग सदस्य पवित्रा तिमिल्सिना, पूर्व केन्द्रीय सल्लाहकार परिषद सदस्य दल बहादुर रावल,प्रदेश कमिटी सदस्य तथा पुर्व संविधान सभा सदस्य सुक्दैया चौधरी ,प्रदेश कमिटी सदस्य नर बहादुर खड्का,बर्दगोरिया गाउँपालिका अध्यक्ष तथा प्रदेश कमिटी सदस्य कर्ण बहादुर कुँवर, प्रदेश कमिटी सचिवालय सदस्य तथा लम्कीचुहा नगरपालिकाका संस्थापक मेयर महादेव बजगाईं,पुर्व जिल्ला कमिटी सचिव डेजी पाण्डे लगायत नेताहरूलाई सक्रिय रूपमा परिचालन गरेको छ।यसले पार्टीको संगठनात्मक बललाई अझ सुदृढ बनाएको छ।

अनुभवी नेतृत्व, युवा जोश, संगठित टिमको सक्रियता र स्थानीय तहसम्मको पकडका कारण कैलाली–२ मा एमालेले यसपटक जित दोहोर्याउने दाबी समर्थकहरूले गरेका छन्।

प्रतिस्पर्धा रोचक, नतिजा कसको पक्षमा?

प्रतिस्पर्धा यस पटक निकै रोचक बन्ने देखिएको छ। एकातिर अनुभवी कमाण्डर ओली र सह कमाण्डर रावल, पूर्व मेयर महादेव बजगाइ, पूर्व सचिव पान्डेको रणनीति, अर्कोतर्फ युवा उद्योगी उम्मेदवार थापाको सक्रियता—यी दुईको संयोजनले एमालेलाई बलियो बनाएको विश्लेषण गरिन्छ।

सम्बन्धित समाचार
ताजा अपडेट