Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सेवा निवृत्त जनस्वास्थ्य अधिकृत कृष्ण देव जोशीको सम्मानसहित विदाई

  • कैलाली दर्पण
  • शुक्रबार, माघ ९, २०८२
सेवा निवृत्त जनस्वास्थ्य अधिकृत कृष्ण देव जोशीको सम्मानसहित विदाई

बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको कोटातुल्सीपुर स्वास्थ्यचौकीमा लामो समयसम्म समर्पित सेवा प्रदान गर्नुभएका जनस्वास्थ्य अधिकृत कृष्ण देव जोशीको सेवा निवृत्तिको अवसरमा भव्य सम्मानसहित विदाई गरिएको  छ ।

बिहिवार स्वास्थ्यचौकी परिसरमा आयोजित कार्यक्रममा वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीवी, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । २०५२ सालदेखि साविक कोटातुल्सीर स्वास्थ्य केन्द्रबाट यहाँका नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भुमिका निर्वाह गरेका जोशीले माघ महिनादेखि अबकास प्राप्त गरेका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरूले जोशीले आफ्नो सेवाकालमा समुदायस्तरमा जनस्वास्थ्य प्रवर्द्धन, रोग नियन्त्रण, मातृशिशु स्वास्थ्य, सरसफाइ तथा स्वास्थ्य सचेतनाका क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जनस्वास्थ्य अधिकृत जोशीको अनुशासित, इमान्दार र सेवामुखी कार्यशैलीले स्वास्थ्यचौकीको सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले जोशीजस्ता अनुभवी र कर्मठ कर्मचारीको योगदान सधैं स्मरणीय रहने बताउनुभयो ।

विदाई कार्यक्रममा सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गर्दै जोशीप्रति सम्मान व्यक्त गरिएको थियो । सो अवसरमा सेवा निवृत्त जनस्वास्थ्य अधिकृत कृष्ण देव जोशीले आफ्नो सेवाकालमा सहयोग गर्ने सबै जनप्रतिनिधि, सहकर्मी र स्थानीयवासीप्रति आभार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रको निरन्तर प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रमले स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका कर्मचारीप्रति कदर र सम्मान व्यक्त गर्दै भावुक वातावरण सिर्जना गरेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट