बौनिया/भौगोलिक रूपमा विकट तथा पिछडिएको मोहन्याल गाउँपालिकामा सडक विस्तार कार्यले तीव्रता पाएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने फलेबिसौना सल्लेरी बर्जना हुदै पालिकाको केन्द्र खिमडी जोड्ने सडक स्तरोन्नतिका लागि गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले बिहिवार शिलान्यास गरेका छन ।
स्थानीयबासी वर्षौँदेखि जोखिमपूर्ण सडकमा यात्रा गर्न बाध्य छन । सडक स्तरोन्नतीका लागि शिलान्यास भएपछि स्थानीय खुसी भएका छन्।
फलेबिशौना सल्लेरी बर्जेना सडक स्तरोन्नति गर्नका लागि संघीय सरकारको र स्थानिय पालिकाको समपुरक कोषबाट निर्माण हुने भएको हो ।
भौगोलिक बिकट र चुरे पहाडका कारण यस गाउँमा वर्षाको समयमा सडक पूर्ण अवरुद्ध हुने गरेको छ । हिउँदमा पनि पैदलयात्रा मात्र गर्न सकिन्छ ।
सडक स्तरोन्नती भएपछि सहजै वर्षाको समयमा पनि यात्रा गर्न सकिने र यो राम्रो कामको सुरुवात गर्न निरन्तर संघ प्रदेश सरकारसँग गरेको पहललले सार्थकता पाएको भन्दै अध्यक्ष उपाध्यायले खुसी व्यक्त गरे ।
गाउँपालिकाको कार्यालय सम्म जान सहजताका लागि पालिकाले विभिन्न खण्डमा स्तरोन्नतिको काम गराइरहेको र गाउँको अधिकांश भेगमा मोटरबाटो खनिएको अध्यक्ष उपाध्यायले बताए । सो सडक मोहन्याल गाउँपालिकाको समपुरक अन्तरगत रु १ करोड ६६ लाख बजेटमा निर्माण हुने छ ।