२३पुस/कैलालीको लम्कीचुहा नगरपालिकामा सिकलसेल एनिमिया, थालासेमिया लगायतका रक्तजन्य रोगबारे सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
सिकलसेल रोगको अवस्था, नियन्त्रणका उपाय र स्थानीय सरकारको भूमिकाबारे छलफल भएको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, थारु समुदायका महिला, सञ्चारकर्मी र अन्य सरोकारवालाको सहभागिता थियो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा नगर उपप्रमुख जुना चौधरीले नगरपालिकामा छिट्टै सिकलसेल परीक्षण सुविधा सञ्चालन हुने बताइन् ।
लम्कीचुहा नगरपालिका सिकलसेल एनिमिया, थालेसेमिया लगायतका रक्तजन्य रोगको नियन्त्रणको विषयमा काम गरिरहेको छ,’ उपप्रमुख जुना चौधरीले भनिन्, ‘सिकलसेल एनिमिया परीक्षणका मेसिन उपकरण आइसकेका छन् । आवश्यक व्यवस्थापनपछि छिट्टै सञ्चालनमा आउनेछन् ।’
त्यस्तै, उनले सिकलसेल रोग वंशाणुगत रूपमा सर्ने भएकाले यसको नियन्त्रणका लागि विवाहअघि नै सचेत हुनुपर्ने कुरामा जोड दिँदै, यस्ता रोगबारे जानकारी अभिवृद्धि गर्न स्थानीय पाठ्यक्रममै समावेश गरी पढाइ हुनुपर्ने बताइन् ।
त्यसैगरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तथा कार्यक्रमकी सभाध्यक्ष जयन्ती वि.सी.ले वडा कार्यालयबाट रोग नियन्त्रणका लागि सहयोग माग भएमा स्वास्थ्य शाखा सहकार्य गर्न तयार रहेको बताइन् ।