Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि हुने

  • कैलाली दर्पण
  • सोमवार, कार्तिक १७, २०८२
सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि हुने

बौनिया/सुदूरपश्चिमको सांस्कृतिक, पर्यटन र व्यवसायिक प्रवर्द्धनका लागि १९औं संस्करणको सुदूरपश्चिम महोत्सव २०८२ मंसिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने भएको छ।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा आयोजना गरिरहेको महोत्सव यसवर्ष पनि धनगढी उपमहानगरपालिका–१ स्थित पशुपति टोलमा हुने भएको हो।

आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य महोत्सवको रहेको जनाएको छ।

महोत्सवमा स्थानीय व्यवसायीलाई विशेष प्राथमिकता दिनुका साथै कैलाली उद्योग वाणिज्य संघमा दर्ता भई नियमानुसार नवीकरण भएका सदस्यहरूलाई विशेष छुट तथा सहुलियत प्रदान गरिने संघका अध्यक्ष पुष्करराज ओझाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

महोत्सवमा ३ करोडको लगानी तथा १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ।

५५ वटा स्टल निःशुल्क

महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेकट्रोनिक, होटल र सूचना प्रविधि गरी ५ सय स्टल रहने जनाइएको छ। जसमा कृषिका ४० वटा निःशुल्क, महिला उद्यमी, एकल महिला, स्थानीय परिकार गरी १५ वटा स्टल गरी जम्मा ५५ वटा स्टल निःशुल्क दिइनेछ।

महोत्सवमा ७ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्न मूल आयोजक समितिसहित २३ उपसमिति गठन गरिएको छ।

महोत्सव अवलोकनको लागी विद्यार्थी, खेलाडीहरूलाई ५० र सर्वसाधारणलाई १०० रुपैयाँ टिकट राखिएको छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ।

महोत्सवमा संघमा दर्ता भएर नियमानुसार नवीकरण भएका व्यवसायी सदस्यहरूलाई सदस्यता पत्र देखाई निःशुल्क प्रवेश गराइने जनाइएको छ। संघका अनुसार बालबालिका, युवा र परिवारका लागि विशेष मनोरञ्जनात्मक कार्यक्रम, खेलकुद गतिविधि तथा सांस्कृतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षण हुनेछन्।

अध्यक्ष ओझाले सुदूरपश्चिमको आर्थिक, सामाजिक र सांस्कृतिक सम्भावनालाई देश–विदेशमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। महोत्सव सफल बनाउन संघले सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यवसायी र आम नागरिकसँग सहकार्यका लागि आग्रह गरेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट