Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

भेटेको १५ दिनमै प्रेम,अर्कोसँग कुरा गरेको भन्दै चक्कु प्रहार गरि हत्या

  • कैलाली दर्पण
  • शनिबार, साउन १७, २०८२
भेटेको १५ दिनमै प्रेम,अर्कोसँग कुरा गरेको भन्दै चक्कु प्रहार गरि हत्या

कैलालीमा सेकुवा सेन्टरमा कार्यरत एक युवतीको चक्कु प्रहार गरेर हत्या गरिएको छ। बर्दगोरिया स्थित बौनिया बजारमा घटेको वास्तविक अनि डरलाग्दो घटना हो ।

कैलालीका निरज साउँद र बाजुराकी याचना सेजुवाल बीच १५ दिन अघि मात्रै भेट भएको थियो । १७ वर्षकी सेजुवाल भाडाको घरमा बस्दै आएकी आमा मना सेजुवाललाई भेट्न कैलालीको बर्दगोरियाको बौनिया गएकी थिइन् । त्यही क्रममा उनको भेट बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउँदसँग भयो ।

बजारमा खाजा खानेक्रममा उनीहरुले एकअर्कासँग परिचय साँटे । फोन र सामाजिक सञ्जालमा कुराकानी हुन थाल्यो । साउँद बौनियामा रहेको राजधानी सेकुवा एण्ड मःम सेन्टरका कुक थिए । बजारको बसाइ र दैनिकजसो खाजा खान आउने जानेक्रम पनि भयो । त्यही बीचमा उनले त्यही पसलमा काम गर्ने निधो गरिन् ।

बुबा गगन सेजुवाल कामका लागि विदेश गएको र आमापनि बेरोजगार भएपछि याचनालाई काम गर्न घरकाले अनुमति दिए । होटलमा वइटरको काम गर्नु पर्ने र पाँच हजार मासिक तलब लिने गरि घरबाट काम गर्न पठाएको आफन्तहरुले स्वीकार गरेका छन् । त्यसपछि साउँद र सेजुवाद दुबै जना काम सँगै गर्न थाले । काम गर्दा गर्दै दुबै नजिक भए । एकअर्कामा प्रेमी प्रेमीका जस्तै ।

सेजुवाल काठमाडौंबाट कक्षा ११ को परीक्षा दिएर आमा भेट्न आएकी थिइन् । वइटरको काम पनि पाइने भएपछि पढाइनै यतैगर्ने गरी उनले आमासँगै बस्ने निधो सहीत काममा लागेकी थिइन् । साउँद पनि एक्ला थिए । पहिलो विहे उनको असफल भएको थियो । दुई सन्तानलाई आफैले हुर्काउने, बढाउने गरी ३३ वर्षका साउँदले पहिलो श्रीमतिसँग सम्बन्ध बिच्छेद गरेका थिए ।

सन्तान हुर्काउनु पर्ने दुख र नयाँ कुमारी केटीसँगैको प्रेमलाई विवाहमा परिणत गर्ने सोचमा थिए, साउँद । बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिका ६ सुदाडा स्थायी घर भएकी सेजुवालले काम गर्न थालेको हप्तादिन पुगेको थिएन् । साउँदले प्रहरीलाई दिएको बयान अनुसार उनीहरु एक अर्काको प्रेममा परिसकेका थिए ।

साउँद कुक थिए, त सेजुवाल वइटर थिइन् । केही दिन कामधन्दा राम्रै चल्यो । दुबैबीच आपसी मेलमिलाप नै देखियो । काम पनि सँगै गर्ने भएपछि केही समय भित्रै विहे गर्ने हतारमा थिए, साउँद । तर सेजुवालको बानी प्रति भने उनलाई शंका थियो । जुन शंकाकै बीच अघिल्लो घरबार टुटेको थियो ।

मोबाइल बढी चलाउने, अरुसँग भिडियो कलमा व्यस्त हुने र आफूलाई बनावटी मात्रै माया गर्ने गरेको प्रति साउँद आक्रोशित थिए । तर सेजुवालले त्यो कुरा अस्वीकार गर्दै आउने गरेकी थिइन् । शनिबार पनि सदाजस्तै राजधानी सेकुवा एण्ड मःम सेन्टरको भान्छाकोठामा प्रेम सम्बन्धमा बाँधिएका सेजुवाल र साउद काम गर्दै थिए ।

सेजुवाल वइटर भएपनि आपसी सहकार्य र निकट सम्बन्धका कारण भान्छासम्मै पुग्ने, एक अर्कालाई सघाउने काम गथ्र्ये । सोही क्रममा उनीहरुबीच विवाद भयो । विवादकैबीच साउँदले याचना सेजुवालको घाँटीमा नजिकै रहेको चक्कुले प्रहार गरिदिए । विषय अरुसँग फोन र भिडियो गर्ने विषयकै थियो । सहज सकिन नजिकै रहेको चक्कुले प्रहार गरे, आवेगमै यस्तो घटना भयो, साउँदले प्रहरीलाई भनेका छन् ।

सेकुवा सेन्टरमा काम थालेको हप्तादिन मै सेजुवालसँग उनी नजिक बने ।  हाँसोमजाकमै उनीहरुको सम्बन्ध प्रेममा परिणत भइसकेको थियो । प्रहरीका अनुसार श्रीमतीले सम्बन्ध विच्छेद भएकै कारण साउँदले सेजुवालसँग सम्बन्ध अघि बढाएका थिए । छोटो समयमै विश्वासमा बाँधिएको प्रेम सानै रिसले प्राण लिएर सकिएको छ ।

साउँदका अनुसार उनीहरु विवाह गरेर बाँकी जीवन उनैसँग बिताउने प्रण गरिसकेका थिए । याचना सेजुवाल वेटर मात्र नभएर पछिल्लो समय भान्छामा साउदको सहयोगी कर्मचारीका रुपमा काम गर्न थालिसकेकी थिइन् ।

चक्कुप्रहार समेत सेकुवा सेन्टरको भान्छा कोठामा गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले प्रारम्भिक अनुसन्धानबाट साउँदले आपसी विवादका क्रममा सेजुवालमाथि चक्कु प्रहार गरेको खुलेको बताए ।

चक्कु प्रहारबाट गम्भीर सेजुवाल सेकुवा सेन्टरको भान्छामै ढलेपछि मात्र काउन्टरमा रहेका होटल सञ्चालकले थाहा पाएका थिए । ‘दुई जनाबीच सेकुवा सेन्टरमै चिनजान भएदेखि प्रेम सम्बन्धमा रहेछ । शनिबार बिहान भान्छा कोठामा काम गर्ने बेला उनीहरुबीच विवाद भएको देखिन्छ,’ डीएसपी सिंहले भने, ‘विवादबीच साउदले सेजुवालमाथि चक्कु प्रहार गरेछन् ।

किशोरी भान्छामै ढलेपछि मात्र काउन्टरमा रहेका सञ्चालकले थाहा पाएछन् । उनलाई तत्कालै अस्पताल लगिएपनि बचाउन सकिएन ।’ गम्भीर अवस्थामा उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याइएकी सेजुवालको त्यही मृत्यु भएको थियो । उनीमाथि चक्कु प्रहार गर्ने साउँदलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेका साउदले सेजुवालसँग विवाह गर्ने समझदारी भइसकेको दाबी गरेका छन् । साउँदले आफूसँग विवाह गर्ने वाचा गरेकी सेजुवालले अरुसँग पनि फोनमा कुराकानी गर्ने गरेको थाहा पाएपछि आवेशमा आएर चक्कु प्रहार गरेर हत्या गरेको बयान दिएका छन् ।

‘म सँग प्रेम र विवाह गर्छु भनिसकेपछि पनि याचनाले अरु केटासँग पनि फोन र भिडियो कलमा कुरा गरिरहन्थिन् । अरुलाई किन कल गछौँ भनेर भन्दा विवाद भयो,’ साउदले प्रहरीलाई भनेका छन्, ‘रिसको झोकमा सहन नसकेर नजिकै रहेको चक्कु समातेर हिर्काउन पुगेछु । अहिले गल्ती गरेको अनुभूती भइरहेको छ ।’

जीवनको साहरा बनाउने सोच थियो, सानै रिसले जीवनै बर्बाद भयो । याचनाको जीवन गयो, मेरो संसार गुम्यो । घर परिवार बेहाल हुने भयो, सबैतिरको कष्ट र दुख सहनु पर्ने अवस्था भयो, साउँदले प्रहरीसँग भनेका छन् । कुक वापतको रकमैबाटै परिवार पाल्ने, सन्तानलाई पालनपोषण गथ्र्ये,अब सबै कुरा सकियो, न प्रेम रह्यो, न प्राण नै उनले प्रहरी समक्ष स्वीकार गरेका छन् ।

याचनाले एसइइ पनि बाजुराबाटै दिएकी हुन् । लामो समय उनी आमासँगै मार्तडीमा बसेकी थिइन् । भने बुबा भारत बसेका थिए । याचनाका परिवारले सुरुमा पसल व्यवसाय गरेका थिए । राम्रै चलेको थियो । बीचमा पसलको व्यापार राम्रो भएन्, छोरी सहीत आमालाई मार्तडी बजारमा राखेर बुबा गगन सेजुवाल भारत लागेका थिए ।

याचना एक वर्ष आफन्तसँग काठमाडौंमै बसेकी थिइन् । उतैबाट नबोलाएको भए पनि हुन्थ्यो, त्यही काममा नपठाएको भएपनि हन्थ्यो, बालकालमै छोरीको विभत्स हत्या हुन पुगेकोमा आफन्त बढी दुखी छन् । साहरा नै छोरी ठानेका सेजुवालको परिवारलाई ठूलो चोट पुगेको छ । भारतमा रहेका बुबा हिँडीसकेको र भोलि पुग्ने आफन्तले बताएका छन् । प्र्रेमका नाममा प्राण नै लिनुपर्ने अवस्था सबैका लागि चुनौतिको विषय बनेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट