२३ असार/कैलालीको बर्दगोरिया गाउँपालिकाको दोदोधरा अस्पतालले निःशुल्क पोस्टमार्टम सेवा सुरु गरेको छ । सोमबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि पोस्टमार्टम सेवा सुरु गरिएको जानकारी गराईएको हो ।
पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले लामो समयको निरन्तर प्रयासपछि यो सेवा सुरु गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले यस अस्पताललाई प्रदेशकै नमुना अस्पतालको रुपमा स्थापित गर्ने गरि आफुहरु लागेको सुनाए । बर्दगोरिया संगै छिमेकी पालिका जोशिपुर, महुन्याल, लम्किचुहा, घोडाघोडिका आम नागरिकले समेत सेवा लिन सक्ने अध्यक्ष कुँवरले बताए ।
डाक्टर ललित साउदले पोस्टमार्टम सम्बन्धि तालिम पश्चात् अकस्मात हुने घटना र मृत्यु पश्चात् अब उपरान्त अन्य ठाँउ जान नपर्ने बताउदै बर्दगोरियाको दोदोधरा अस्पतालमा पोस्टमार्टम सेवा सुरु भएको बताए । डाक्टर साउदले पोस्टमार्टम गर्दा चाहिने औजार र पोस्टमार्टम गर्न आवश्यक घाउ, चोट पहिचान गरेर कस्तो खालको हो भन्ने एकिन गरेर मात्र गर्न सकिने बताए ।
मेडिकल सुपरिटेन्डेन्ट किशोर कुमार अधिकारिले पछिल्लो समय दोदोधरा अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको कुराले पनि यस अस्पतालले आमनागरिकको विश्वास जित्दै गएको प्रस्ट हुने उनको भनाई छ । उनले यस अस्पतालमा अन्य आवश्यक सेवा सुविधा थप्न गाउँपालिका निरन्तर प्रयारत रहेको बताए ।
पोस्टमार्टम सेवा सुचारु कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठ , वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम २ का अध्यक्ष गोबिन्द बिक , कार्यपालिका सदस्य सरस्वती बि क लगाएत विभिन्न शाखा प्रमुख र कर्मचारी हरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जनस्वास्थ्य निरीक्षक युजिन कुश्मिले गरेका थिए ।
साथै बर्दगोरियाको दोदोधरा अस्पतालमा सर्पदंश उपचार सेवा, सिकलसेल एनिमिया रोगको समेत उपचार हुने गरेको छ ।
