७ जेठ/पछिल्लो समय मानिसका जन्मदिन मनाउने तरिका आ–आफ्नै छन् । कतिपयले जन्मदिनको अवसरमा हजारौँ रकम होटल रेस्टुरेन्टमा खर्चिएर त्यो दिनलाई विशेष बनाउने गर्दछन् त कतिले फजुल खर्चलाई कटौती सामाजिक क्षेत्रमा पनि योगदान दिने गरेका छन् ।
यसैबीच कैलालीमा बसेर पत्रकारिता गर्दै आएका युवा पत्रकार खेम ढुंगानाले पत्रकारितालाई केवल समाचार संकलन र प्रसारणमा सीमित नराखी सामाजिक जिम्मेवारीमा बदल्ने उदाहरणले आफ्नो जन्मदिनको अवसरमा आगलागीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग गरेका छन्।
गत जेठ २ गतेको हावाहुरीसँगै आएको भीषण आगलागीले झंकर बुढाको घर पूर्ण रूपमा खरानी बनाएको थियो। शरीरमा लगाएका कपडा बाहेक सबै थोक गुमाएका पीडित अहिले अरुको आश्रयमा जीवन यापन गरिरहेका छन्।
त्यही दिन रिपोर्टिङका क्रममा घटनास्थल पुगेका पत्रकार ढुङ्गाना पीडित परिवारको अवस्था देखेर स्तब्ध भए। उनले तत्काल सामाजिक सञ्जालमार्फत् भिडियो प्रसारण गरी सहयोगको आह्वान गरे। भिडियोले देश-विदेशका दर्शक तथा सहयोगी मनहरुलाई छोयो र सहयोगको श्रृंखला सुरु भयो।
यसैक्रममा, पत्रकार ढुङ्गानाले आफ्नो जन्मदिनलाई अवसर मानेर पीडित परिवारलाई नगद १० हजार रुपैयाँ सहयोग गरेका छन्। उनले भने, “सामाजिक पीडामा म चुप लागेर बस्न सक्दिनँ। पत्रकारिताको धर्म भनेको पीडितको आवाज बुलन्द पार्नु मात्र होइन, सकेको सहयोग गर्नु पनि हो।”
उनको यो मानवीय पहलले पत्रकारिता क्षेत्रका लागि एउटा सकारात्मक सन्देश दिएको छ। सामाजिक उत्तरदायित्वप्रति समर्पित पत्रकार ढुङ्गानाको यो कार्य प्रशंसनीय मात्रै होइन, अनुकरणीय पनि बनेको छ।