१०बैशाख/लम्किचुहा नगरपालिकाले अतिविपन्न समुदायका ३८ घरपरिवारका लागि आवासीय घर तयार गरेर हस्तान्तरण गरेको छ।
बुधबार कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४, कौवापुरस्थित शिविर क्षेत्रमा ३८ विपन्न परिवारलाई शौचालय सहितको दुई कोठे पक्की भवन हस्तान्तरण गरिएको हो।
नगर प्रमुख सुशीला शाहीका अनुसार यो घर हस्तान्तरण उनीकै निर्वाचनकालीन प्रतिबद्धताको परिपूर्ति हो । ‘त्यो बेला उम्मेदवारी पनि टुंगो लागेको थिएन,’ उनी भन्छिन्, ‘भुप्रा जस्ता घर देखेर मैले यहाँका जनतासँग प्रतिवद्धता गरेकी थिएँ, र आज त्यो पूरा भएकोमा खुसी छु ।’
२५ वर्षीया आशा चौधरीका आँखा अहिले अझ उज्याला छन् । उनले भनिन्, ‘पहिले छाना चुहिन्थ्यो, हुरी आउँदा सुत्नै सक्दैनथ्यौं । अब नगरपालिकाले बनाइदिएको घरले हामीलाई ढुक्क बनाएको छ ।’
यस सुरक्षित नगर आवास कार्यक्रम ह्याविटाट नेपाल, लम्कीचुहा नगरपालिका, र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा संचालित हो ।
कुल ४५ घरमध्ये ३८ घर तयार भई हस्तान्तरण गरिएका हुन्, जसमा वडा नं. ४ कौवापुरमा ३१ र वडा नं. ३ बल्चौर बादी बस्तीमा ७ घर निर्माण गरिएको हो ।
लागत सहभागिता
ह्याविटाट् नेपाल, लम्कीचुहा नगरपालिका र सुदूरपश्चि प्रदेश सरकारको संयुक्त लगानीमा सञ्चालित सुरक्षित नगरवास कार्यक्रम अन्तरगत लम्कीचुहामा ४५ घर निर्माण गरिएका छन् । वडा नं.४ को शिविर कौवापुरमा ३१ घर र वडा नं.३ को बल्चौर बादी बस्तीमा ७ घर निर्माण गरिएको छ । ३८ घर परिवारका २ सय २८ जनाको लागि निर्माण गरिएको जम्मा लागत २ करोड ६१ लाख ६० हजार ४ सय रहेको ह्याविटाट् नेपाल, की पश्चिम कार्यालय प्रमुख पुनिता चौधरीले जानकारी दिइन् । जसमा ह्याविटाट् नेपालको ९४ लाख ५३ हजार ७ सय ५०, लम्कीचुहा नगरपालिकाको ८० लाख १६ हजार ४ सय, सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ३५ लाख रुपैयाँ र समुदायकोको ५१ लाख १० हजार ४ सय रुपैयाँ बराबरको श्रमदान रहेको छ ।

थप १४ घरको शिलान्यस
असुरक्षित आवासमा रहेका नागरिकलाई सुरक्षित अवास प्रदान गर्दै उनीहरूको आवास निर्माणमा गर्ने खर्च कटौती गरि आयआर्जनमा बृद्धि गर्ने, प्राकृतिक विपत्तिबाट बचाउने उदेश्य रहेको सुरक्षित आवास कार्यक्रम अन्तरगत लम्कीचुहामा थप १४ घरको शिलान्यस पनि भएको छ । लम्कचुहा नगर प्रमुख सुशीला शाही, ह्याविटाट् नेपालकी पश्चिम कार्यालय संयोजक पुनिता चौधरी, र ह्याविटाट् नेपालको साझेदार संस्था राष्ट्रिय दलित नेटवर्कका कन्द्रीय अध्यक्ष मोहन ओड लगायतको सहभागीतमा बुधवार नै लम्कीचुहा–८ डम्मरीयामा १४ वटा घरको शिलान्यास भएको छ । ६ लाख ८८ हजार २ सय ८५ रुपैयाँ पचास पैसा लागत रहेको प्रति घरमा लम्कीचुहा नगरपालिकाले ५० हजार, सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबा २ लाख ९४ हजार, ह्याविटाट् नेपालको २ लाख ५० हजार रुपैयाँ र ९४ हजार २ सय ८५ रुपैयाँ ४७ पैसा बराबरको जनश्रमदान रहने छ ।
वडा अध्यक्ष तारा प्रसाद अधिकारीले सिँचाइ, तारबार र खानेपानी जस्ता समस्याहरू पनि समाधानको चरणमा रहेको जानकारी दिए । उनका अनुसार सम्बन्धित निकायहरूसँग छलफल भइसकेको छ र चाँडै सकारात्मक परिणाम आउने अपेक्षा छ ।
घर मात्र होइन, आत्मविश्वासको पुनर्निर्माण पनि भइरहेको छ लम्कीचुहामा । जहाँ हिजोका दिन भुप्राजस्ता टहरामा काटेकारू आज आफ्नै पक्की घरको छानोमुनि आश्वस्त जीवन बाँच्न थालेका छन् ।
किनभने, घर नै पाइए, अरु के खाँचो?