Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

राउटे समुदायका एक युवकको मृत्यु,जनसंख्या१३४ मा झर्‍यो

  • कैलाली दर्पण
  • बिहिबार, अशोज ३, २०८१
राउटे समुदायका एक युवकको मृत्यु,जनसंख्या१३४ मा झर्‍यो

३ असोज/लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ ।  २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको हो।

शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो । उपचार हुन नसकेपछि अहिले राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसी जानकारी दिए ।

उनका अनुसार मृतक युवा ६ महिनादेखि बिरामी थिए । उपचार गर्न अस्पताल जान नमान्ने राउटे समुदायलाई सम्झाई बुझाई गर्दा बल्ल भदौ ३१ मा उपचार गर्न सहमति जनाएका थिए ।

गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत ल्याइएको उनले बताए । खकार चेक गर्दा क्षयरोग रोग देखियो । उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको जानकारी दिए ।

‘क्यान्सर पो हो कि भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मन्जुर भएनन्,’बिसीले भने, ‘अस्पतालले डिस्चार्ज गरिदियो । फर्किँदै गर्दा बाटोमा मृत्यु भएको हो ।’

उनी राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । यसअघि मृतकका दाजु कपिल शाहीको ६ वर्षअघि मृत्यु भएको हो ।

२०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् ।

वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले जनाए ।

सम्बन्धित समाचार
ताजा अपडेट