२८भाद्र/ सरकारले धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए ।
२०७२ को भूकम्पले भत्किएपछि धरहराको पुनर्निर्माण गरिएको हो
बाहिरबाट हेर्दा पुरानै डिजाइनको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ । १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो । त्यसबेला २ तला भत्किएर ९ तलामा सीमित बनेको थियो ।
अब यसमा दुइटा लिफ्ट जडान गरी धरहरा चढ्न सकिने सुविधा मिलाइँदै छ । भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । धरहरा टावरमुनि तीन तले भूमिगत पार्किङ बनाइएको छ । प्रशासनिक भवन र संग्रहालय समेत यहाँ बन्दैछ ।