बैशाख १०/सरकारले भोलि अर्थात बैशाख ११ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल दुई दिने भ्रमणमा आउने भएपछि नेपाल सरकारले उनको सम्मानका लागि एक दिन मंगलबार सार्वजनिक बिदा दिने भएको हो।
उक्त निर्णय सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
कतारका राजा दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउन लागेका हुन् । उनी पहिलो पटक नेपाल आउन लागेका हुन्
विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा बिदा दिने निर्णय भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका राजा छिमेकी देश नेपाल आउन लागेका छन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ । उनको भ्रमणपूर्व नै तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि मण्डल काठमाडौं आउने भयका छन् ।
नेपालस्थित कतारी राजदूत मिस्हल बिन मोहम्मद अल अन्सारीले भ्रमणको गृहकार्य अन्तिम चरणमा रहेको बताए । परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । उनी बुधबार बेलुका स्वदेश कतार फर्कने भएका छन ।
कतार न्युज एजेन्सीले एसियाली मुलुकको भ्रमणमा निस्केका राजाले सम्बन्धित मुलुकका नेता तथा वरिष्ठ अधिकारीहरूसँग सहकार्य अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख गरिएको छ।। उनी तीन एसियाली मुलुकको भ्रमणका लागी गत आइतबार दोहाबाट फिलिपिन्स उडेका कतारी अमिर बंगलादेश हुँदै नेपाल आउन लागेका छन् ।