Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

आत्महत्याको बाटो त्यागी समाज रुपान्तरणमा लागेकी सपना

  • कैलाली दर्पण
  • शुक्रबार, चैत्र १०, २०७९
आत्महत्याको बाटो त्यागी समाज रुपान्तरणमा लागेकी सपना

ईन्द्रा के सी
सुखड कैलाली ।
सपना (परिवर्तित नाम) अहिले १५ वर्षकी भइन् । विपन्न परिवारमा जन्मिएकी सपना वुवा आमा, २ दाजु र १ भाइ सहित कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ५ फारममा बसोवास गर्छिन् । अघिल्लो बर्ष जेठ महिनामा सोही नगरपालिकाको अर्को वडाका एक १६ बर्षिय किशोरसँग उनको भागी विवाह भयो । अपरिपक्व दिमागले गरेको निर्णयले उनलाई सारै पिडा दियो ।

कसरी भयो  उनको विवाह ?

गाँउकै एउटी महिलाको उस्काहटमा परेर उनले कम उमेरमैं भागी विवाह गरेको बताउँछिन् । हुर्केकी चेली माईतमा कति बस्छौ, विहे गरे राम्रो लाउन मिठो खान पाउछौ, सुख पाईन्छ । राम्रो परिवार छ, केटा पनि ठिक छ तिमीलाई राम्ररी पाल्छ, दुःख पायो भने म छदै छु नी ।
यता उनको आफ्नै नाता पर्नेबाट पनि विवाह गर्ने दवाव आईरहेको थियो तर उनलाई त्यहाँ विहे गर्न पटक्कै मन थिएन । उनले तीनै महिलाले भनेको ठाँउमा भागेर विवाह गरिन् । त्यो बेला तीनै महिलाले उनलाई भनिन्, ‘मैले भनेको कुरा कसैलाई नभन्नु, तिमीलाई केही भयो भने म खर्च दिन्छु । तिमी फस्यौ भने मलाई नफसाउनु ।
उमेर नपुगी विवाह गरेकोमा केटा पक्षका परिवारका सदस्यहरू पनि त्यती खुशी भने थिएनन् । विहे गरेको सुरुवातका केही दिनहरु भने सपनाका लागि सहजै बने तर, एक महिना पछि उनले मानसिक र शारीरिक यातना झेल्न बाध्य भइन् ।
दिनभरि काममा लगाउने, आफ्नो मनमर्जीले चल्दा घरकाले गाली गर्ने, खाना खान नदिने, पिट्ने सम्मको यातना दिन थाले । यसका साथै ‘तेरो माईतीबाट दाइजो लिएर आईजा’, ‘त जस्तो बुहारी कति भेटिन्छन् भेटिन्छन् भन्दै शारीरिक र मानसिक तनाव पनि दिएका थिए’ सपनाले सुनाइन् । अन्तमा उनीहरुले सपनालाई घरबाटै निकालिदिए ।
सुख पाउने आशमा भागेर विहे गरेकी सपना एक वर्ष नवित्दै गएको पुषमा माईत फर्किइन् । आफूहरुको सहमती बेगर भागी विवाह गरेर यातना पश्चात फेरी माईतै फर्केकी उनले आफ्नै बुवा आमाको माया र सहानुभूती समेत पाईनन् । ‘बिहे गरेर गएको मान्छे फर्केर आई, बुवा आमाको नाक काटी, ईज्जत फाली फेरी लुरुक्क परेर यहि फर्केर मरी सम्म भने’ । यस्तालाई घरमा राखे समाज बिग्रिन्छ, समाजबाटै बहिस्कार गर्नुपर्छ भनेर वुवाआमा, छरछिमेकीले भनेको कुरा उनले सुनाईन् ।
त्यसपछि उनी थप मानसिक समस्यामा परिन् । यस्तै तनावमा उनलाई कसैसँग बोल्न मन नलाग्ने, एकोहोरो हुने, डराउने, एक्लै बस्न रुचाउने, सानो सानो कुरामा झर्किने, रिसाउने र खाना नखाने जस्ता समस्या देखिन थालेको उनी वताउछिन् । माईती फर्केको करिब २ महिनाको दौरान उनले फागुन १२ गते आत्महत्याको प्रयास गरिन् । यो उनको आत्महत्याको तेस्रो प्रयास थियो, यसअघि पनि उनले दुई पटक आफ्नै घरमा आत्महत्याको प्रयास गरेकी थिइन् । सपनाको आत्महत्याको प्रयासले उनको बुवाआमालाई चिन्ता लाग्न थाल्यो ।
यही दौरान सपनाको अवस्थाका बारेमा बाल संरक्षण परियोजनाद्वारा सञ्चालित रूपान्तरण कक्षाका सहजकर्ता मार्फत बाल कल्याण संघ टिकापुरमा पुग्यो । त्यसपछी सपनाले बाल कल्याण संघ टिकापुर मार्फत मनोपरामर्श सेवा पाउन थालिन् ।
नियमित मनोपरामर्श सेवा पाउन थालेपछि उनमा क्रमिक रुपमा सुधार आउन थाल्यो । उनी विस्तारै पुरानै लयमा फर्किन थालिन् । सबैसँग घुलमिल हुने, अरुका कुरा सुन्ने, कम रिसाउने जस्ता सकारात्मक स्वभावहरु देखिन थाले । विस्तारै सपनामा जीवनप्रतिको सकारात्मक सोच र आत्मविश्वास बढ्न थाल्यो । उनले सुनाउछिन्, त्यसपछी मलाई आत्महत्या गर्नु गलत हो भन्ने लाग्न थाल्यो ।
उनी अहिले वल्डभिजन इन्टरनेशनल नेपाल र बाल कल्याण संघको बाल संरक्षण परियोजनाद्वारा सञ्चालित आफ्नै गाउँमा रहेको रूपान्तरण कक्षाको सहभागी पनि हुन् । उनी रूपान्तरण कक्षामा नियमित जान्छिन् ।
रूपान्तरण कक्षाबाट आफूमा जीवन प्रतिको बुझाई सकारात्मक हुँदै गएको र उनको जीवनमा आएको समस्या बाल विवाहबाट सुरु भएको भन्ने ठम्याई रहेको वताउछिन् ।

रुपान्तरण कक्षामा सहभागिहरु

अहिले उनी आफूले विगतमा झेलेका कष्ट अरु किशोरीहरु माझ सहज रुपले बाढ्छिन् र बाल विवाहले हुने समस्याका बारेमा अरु दौतरीहरुलाई समेत सचेत गराउने गरेकी छिन् । उनले आफ्नो कथाबाट अरूलाई यस्तो नगर्न प्रेरणा दिने वताउछिन् । सपनामा आएको सकारात्मक परिवर्तन र सरलता देखेर उनका परिवारका सदस्यहरु पनि अहिले खुशी छन् ।
उनीहरु भन्छन्, ‘वल्डभिजन इन्टरनेशनल नेपाल र बाल कल्याण सघंलाई धन्यवाद, हामीले आफ्नो छोरीलाई अकालमै गुमाउनबाट जोगियौं’
वल्डभिजन इन्टरनेशनल नेपाल र बाल कल्याण सघंले सपना र उनको परिवारको सपना मात्रै सुन्दर बनाएको छैन, घोडाघोडी न.पा. कै वडा नं. ५ कि विपना (परिवर्तित नाम) को जीवन पनि अहिले सपनाको जस्तै अरूहरुका लागि प्रेरणा बनिरहेको छ ।
१६ वर्षकी विपना स्थानीय सामुदायिक विद्यालयमा कक्षा १० मा पढ्छिन् । उनको ठुलो परिवार छ । छोरा पाउने आसै आसमा ५ जना छोरी जन्माएका विपनाका बुवाले उनकी आमालाई चरम यातना दिएको उनले आफ्नै आँखाले देखेकी थिईन् । घरमा राम्रो वातावरण नपाएपछि विपनाको पढाई पनि बिग्रँदै गयो ।
त्यसै माथि कोरोना सङ्क्रमणको बेला विद्यालयहरू बन्द भए । त्यो बेलासम्म उनी सामाजिक सञ्जालको लतमा फसीसकेकी थिइन् ।
फेसबुकमा अपरिचित व्यक्तिसँग घन्टौँ कुराकानी गर्ने, भिडियो कल गर्ने गर्नाले उनर्लाइ वरिपरिको आफ्नो वातावरण काल्पनिक र सामाजिक संजालको दुनिया वास्तविक लाग्न थाल्यो । कोरोना संक्रमण सक्किएपछी उनलाई स्कुल जानुपर्ने भयो, तर उनी भर्चुअल दुनियालाई यर्थाथ मान्न थालिसकेकी हुँदा स्कुल जान बुवाआमा र अरु नजिकका मानिसहरुले भनेका कुराहरु नराम्रो लाग्न थाल्यो ।
उनलाई त्यो समयमा आफ्नै घरका सदस्यहरु मेरो शत्रु हुन्, मेरो खुशी चाहँदैनन् भन्ने लाग्दै गएको र त्यसपछि आफू सबैबाट टाढिँदै गएको उनले वताईन् ।
आफ्ना नजिकका मानिसहरुबाट टाढा बन्दै गएपछि विपनाको जीवनमा पनि विस्तारै मानसिक समस्या देखिन थाल्यो । उनी कसैसँग घुलमिल नहुने, आफ्ना कोठाबाट बाहिर ननिस्कने, धेरै नबोल्ने, झर्किने, रिसाउने लगायतका व्यवहारहरु उनमा फेरिए । यस विषयमा बुवा आमाले सम्झाउन खोज्दा उनले २०७८ माघ १२ गते  आत्महत्याको प्रयास गरिन् ।
विपनाको समस्या पनि बाल संरक्षण तथा सामुदायिक सहभागिता परियोजनाद्वारा सञ्चालित रूपान्तरण कक्षाको सहजकर्ता मार्फत बाल कल्याण संघ टिकापुरसम्म पुग्यो । उनले पनि त्यहाँबाट मनोपरामर्श सेवा पाइन् ।


विपनाले नियमित मनोपरामर्श सेवा पाएपछि नियमित विद्यालय जान थालिन् । खाना पकाउने, खाने र खुवाउने गर्न थालिन् । उनको हराएको पुरानो स्वभाव पुनः फर्केर आयो । उनी अहिले रूपान्तरण कक्षाको सहभागी पनि हुन् । रूपान्तरण कक्षामा उनी आफ्नो समस्या र समाधानका पाटोहरू सबैसंग खुलेर बताउँछिन् । रुपान्तरण कक्षामा बाल अधिकार, बाल विवाह, बालश्रम, यौन हिंसा, घरेलु हिंसा, व्यावसायिक तालिम, यौन तथा प्रजनन स्वास्थ्य तथा नागरिक सहभागिता जस्ता व्यवहारिक कुराहरू सिकाईन्छ । विपनाको फेरिएको जीवन शैलीले उनका परिवार र साथिभाई उत्साहित छन् । सपना र विपनालाई बाल संरक्षण परियोजनाका मनोपरामर्शकर्ता विष्णा चौधरीले परामर्श दिएकी थिईन ।

विपना र सपना हाम्रो समाजका प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्ता हजारौँ किशोरीहरु अहिले पनि शारिरीक र मानसिक तनाव÷समस्या झेलेर बसिरहेका छन् । यस अवस्थामा के गर्ने भन्ने विषयमा न त उनलाई न उनका परिवारहरुलाई जानकारी छ । यस्तो परिस्थितीमा उनीहरुलाई ठिक समयमै मनोपरामर्श दिन सके बढ्दो मानसिक विमारी तथा आत्महत्याका घटनाहरुलाई न्यूनीकरण गर्न सकिने बाल संरक्षण तथा सामुदायिक सहभागिता परियोजनाका मनोपरामर्शकर्ता बिष्णा चौधरीको अनुभव छ ।

सम्बन्धित समाचार
ताजा अपडेट