Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

व्यवहारिक र सैद्धान्तिक शिक्षाको शैक्षिक सुधारका लागि प्राविधिक शिक्षाको आवश्यकता _मुख्यमन्त्री भट्ट

  • कैलाली दर्पण
  • शनिबार, साउन २१, २०७९
व्यवहारिक र सैद्धान्तिक शिक्षाको शैक्षिक सुधारका लागि प्राविधिक शिक्षाको आवश्यकता _मुख्यमन्त्री भट्ट

बौनिया ,साउन २१
सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले पछिल्लो समय शिक्षामा देखिएको व्यवहारिक भन्दा पनि सैद्धान्तिक शिक्षाको शैक्षिक सुधारका लागि प्राविधिक शिक्षाको आवश्यकता रहेको बताएका छन् ।

शनिबार घोडाघोडी बहुमुखी क्याम्पसको आठौँ साधारण सभालाई सम्बोधन गर्न पुगेका मुख्यमन्त्री भट्टले अहिलेको शिक्षा व्यावहारिक भन्दा पनि सैद्धान्तिक रूपमा मात्रै भएको बताए ।

भट्टले हातमा डिग्रीको सर्टिफिकेट छ तर आवश्यक दक्ष जनशक्ति भने छैन । जसले गर्दा जनता सामु आफूहरूले सही ढङ्गले सेवा प्रवाह गर्न नसकेको समेत अभिव्यक्ति व्यक्त गरे । अहिले बजारमा जस्तो जनशक्तिको आवश्यकता छ,तेतातिर ध्यान जानु पर्ने उनको भनाइ थियो ।

साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले भने, “८८ ओटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा एउटा स्थानीय तहमा कमसेकम चार ओटा डाक्टर राख्न सक्यो भने पनि धेरै जनतालाई सुविधा दिन सकिन्छ र जनताले सुविधा पाउँछन् पनि । तर त्यो जनशक्ति हामीसँग छैन ।

चार ओटा इन्जिनियर को आवश्यकता पर्ला,चार ओटा ओभरसियरको आवश्यकता पर्ला त्यो किसिमको जनशक्ति हामीसँग नभएका कारण हामीले जनतालाई सेवा दिन नसकेको स्थिति र अर्को तर्फ डिग्री लिएर बसेका जनशक्ति यी दुई बिचको अन्तर विरोध छ यसलाई सही ढङ्गले परिचालन गर्न हामीले आगामी दिनहरूमा बजारमा आवश्यक जनशक्ति निर्माण गर्न अग्रसर हुनु पर्छ ।”

साथै भट्टले प्राविधिक शिक्षालाई जोड दिन सुदूरपश्चिममा प्राविधिक विश्वविद्यालयको छिट्टै स्थापना गरिने पनि बताए । कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको र बजेटमा समेत यी कुराहरू राखी सकेकाले अब छिट्टै स्थापना हुने उनको धारणा थियो ।

क्याम्पसको साधारण सभा कार्यक्रममा मुख्य मन्त्री भट्ट सहित सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री अमर बहादुर साउँद, प्रदेश सभा सदस्य बिरभान चौधरी लगायत विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट