Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलालीमा मन्त्री आलेले ४८ लाखमा खरिद गरे सरकारी जग्गा !

  • कैलाली दर्पण
  • बिहिबार, माघ २०, २०७८
कैलालीमा मन्त्री आलेले ४८ लाखमा खरिद गरे सरकारी जग्गा !

कैलाली : सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले कैलालीमा जग्गा खरिद गरेका छन्। उनले जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीमा सरकारी जग्गा खरिद गरेका हुन्।

मन्त्री आलेले ६ लाखका दरले ४८ लाखमा ८ कट्ठा पर्ती जग्गा खरिद गरेको हाटखोलीका स्थानीय दलबहादुर बुढामगरले बताए। बुढामगरले नै मन्त्रीलाई जग्गा बिक्री गरेको पनि खुलेको छ। बुढामगरका अनुसार मन्त्री आले आफैँ जग्गा खरिद गर्न हाटखोली पुगेका थिए। ‘८ कट्ठा पर्ती जग्गा खरिद गरेका मन्त्री आलेले आफ्नै नाममा कागज पनि बनाउन लगाएका छन्,’ हाटखोलीकै अर्का एक स्थानीयले भने। मन्त्री आलेले जग्गा खरिद गरेको प्रमाण दिनेशखबरलाई पनि प्राप्त भएको छ।

तर सरकारी र सार्वजनिक जग्गाको कारोबार गर्न नपाउने कानूनी व्यवस्था रहेको छ। ‘अवैध रुपमा खरिदबिक्री भइरहेको हुन्छ तर ऐलानी र पर्ती जग्गाको कारोबार गर्न पाउँदैन,’ मालपोतका एक अधिकृतले भने, ‘आयोगमार्फत ऐलानी जग्गाको लालपुर्जा नै पाए पनि वर्षाैसम्म कारोबार गर्न नपाउने व्यवस्था छ।’

मुलुकी देवानी संहिताको परिच्छद ५ को २९९ को (ङ) मा नहर, कुलो वा ऐलानी, पर्ती जग्गालाइृ पनि सरकारी जग्गा भनिएको छ। सोही परिच्छेदको ३००.(२) मा सार्वजनिक सम्पत्तिको स्वामित्व सम्बन्धित सार्वजनिक संस्था वा नेपाल सरकारमा रहने उल्लेख छ। तर मन्त्री आलेले नै खरिद गरेपछि ऐलानी, पर्ती जग्गाको अवैध कारोबार झनै मौलाउने आशंका गरिएको छ। यसबारे बुझ्न मन्त्री आलेलाई सम्पर्क गर्दा उनको फोन उठेन। मन्त्रीका स्वकिय सचिव हेमन्त रेग्मीको फोन अफ थियो।

यसअघि केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा एमालेबाट वनमन्त्री भएका आले अहिले काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री छन्। उनी डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

सम्बन्धित समाचार
ताजा अपडेट